
जनकपुरधाम- मधेस प्रदेश सरकारले ल्याएको बजेटमा बिचौलियाको प्रभाव रहेको भन्दै प्रमुख प्रतिपक्षी दलहरूलगायतका सांसदहरूले बजेट पुनर्लेखनको माग गर्दै बुधबारको प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्।
अवरोधका कारण बैठक सञ्चालन हुन नसकी बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
बुधबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक समयमा सुरु हुन सकेन। त्यसपछि ३ बजेर १० मिनेटमा बैठक डाकिए पनि करिब पौने ४ बजे सुरु भएको बैठक पनि अवरुद्ध भएकै कारण अगाडि बढ्न सकेन।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक रामअशिष यादवले सत्तापक्षका केही सांसदहरू समेत अनुपस्थित रहेको भन्दै बजेटप्रति उनीहरूमा पनि असन्तुष्टि रहेको संकेत गरे। बैठकअघि सभामुख रामचन्द्र मण्डलले सर्वदलीय छलफल डाकेका थिए, तर निष्कर्षमा पुग्न नसकेपछि सहमति बन्न सकेन।
सभामुख मण्डलले बजेटमाथि छानबिन गर्न कार्यदल गठनको प्रस्ताव राखेका थिए, तर सत्तापक्षले त्यो प्रस्ताव अस्वीकार गरेको विपक्षी दलहरूको आरोप छ।
मधेस प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गरेपछि असार ११ गते करिब २३ मिनेटमात्रै छलफल सम्भव भएको थियो। त्यसयता प्रदेशसभा बैठक पटक–पटक स्थगित हुँदै आएको छ।
बजेट पुनर्लेखनको माग गर्दै प्रमुख प्रतिपक्षी जसपा नेपालसँगै माओवादी केन्द्र, नेकपा (एस), राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्।