
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले २ वटा तीज गीतलाई प्रतिबन्ध लगाउन माग गरेको छ। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले आज २६ गते एक विज्ञप्ति जारी गरी धुर्ब पुन र चन्द्र कुमारी शाहीको स्वरमा रहेको ‘गाई कालो’ र राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमारमा’ लाई प्रतिबन्धका लागि माग गरेकाे हाे।
तीज पर्वलाई लक्ष्य गरी ल्याइएका दुई गीतलाई विकृति र अश्लीलता फैलाएको आरोप लगाउँदै यसमा प्रतिबन्ध लगाउन माग गरेको विज्ञप्तिमा उल्लेख छ।
‘तीज पर्वको नाममा उत्पादन हुने कुनै पनि विकृति, अश्लीलता, अपशब्द र सामाजिक मर्यादाविपरीत सामग्री समावेश गरेका गीतहरूलाई पत्रपत्रिका, रेडियो, टेलिभिजन, युट्युब तथा सामाजिक सञ्जाललगायत कुनै पनि माध्यमबाट प्रकाशन तथा प्रसारण नगर्न र नगराउन सबै सरोकारवाला निकायहरूलाई अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।
यस क्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले सांस्कृतिक विरासत जोगाउन मौलिक, सन्देशमूलक, लोक परम्परा झल्काउने गीतहरूको संरक्षण, प्रचार प्रसार र प्रोत्साहन गर्न सबै सञ्चारकर्मी, सर्जक, गायक, संगीतकर्मी तथा आम नागरिकलाई आह्वान पनि गरेको छ।
केही वर्षदेखि यस पर्वका नाममा बजारमा आइरहेका गीत-संगीतमा परिलक्षित विकृति, भड्किलोपन, सांस्कृतिक अपमान तथा अश्लील सामग्रीले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले गम्भीर चिन्ता प्रकट गरेको छ।