२० दिनमा १५ लाख हस्ताक्षर

रास्वपाको हस्ताक्षर अभियानले छुट्लान् त रवि?

रास्वपाको हस्ताक्षर अभियानले छुट्लान् त रवि?
+
-

काठमाडौँ – ‘देश र जनताको माया गर्ने नेता तुरुन्त छुटून्। न्याय दिने सबैमा सद्‌बुद्धि आओस्। सत्य कुराको सही छानबिन होस्। चाँडै छुट्नुहोस्। आदरणीय सहकर्मी रवि लामिछाने ज्यू’, काजी बाबाट परिचित कलाकार रामचन्द्र अधिकारीले प्राथना गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हस्ताक्षर अभियानमा सहभागी भए।

हप्ता दिनअघि रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर हस्ताक्षर अभियानमा सहभागी हुँदै उनले आफूहरू साथमा रहेको र नआत्तिनसमेत लामिछानेलाई सन्देश दिए। उनीसँगै कलाकार राजाराम पौडेल पनि हस्ताक्षर अभियानमा सहभागी थिए।

सहकारी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारगारमा रहेका लामिछानेलाई रास्वपाले सरकारले गरेको राजनीतिक प्रतिशोध भनेको छ। यस राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाले पार्टीको तेस्रो स्थापना दिवस असार ७ गतेदेखि तीन महिने जनताको हस्ताक्षर अभियान चलाएको छ।

सोही अभियानमा अहिले राजनीतिज्ञदेखि, कलाकारसँगै अन्य पेशा व्यवसायमा रहेका व्यक्ति र आम नागरिकको सहभागिता देखिएको छ। देशभित्र मात्र होइन देशबाहिरबाट पनि अभियान सञ्चालन भएको रास्वपाले बताएको छ।

हस्ताक्षर अभियानमा एकपछि अर्को गर्दै कलाकारको सहभागिता देखिएको छ। दुई हप्ताअघि नै कलाकार रमेश उप्रेतीले रविका पक्षमा हस्ताक्षर गर्दै अहिले रविले कडा परीक्षा दिएको र नतिजा पनि राम्रै आउने बताए।

उनले रविमाथि कस्तो प्रतिशोध भएको भन्ने थाहा नभए पनि उनीमाथि प्रतिशोध नसाध्न सरकारलाई आग्रह गरे। ‘अदालतले दिएको आदेश मान्नुपर्छ। प्रतिशोध कस्तो हो मलाई थाहा भएन’, उनले भने, ‘म भन्छु सरकारले रविमाथि प्रतिशोध नसाधोस्। देशकै सेवा गर्ने हो सबै मिलेर गरौँ।’

बिहीबार मात्र अभिनेत्री मनिषा कोइरालाले राज्यले रविमाथि प्रतिशोध साधेर अन्याय गरेको भन्दै रविका पक्षमा हस्ताक्षर गरिन्। रविका पक्षमा कलाकार विपिन कार्की, किरण केसी, अशोक शर्मा, खगेन्द्र लामिछानेलगायतले पनि हस्ताक्षर गरेका छन्। हस्ताक्षर अभियानमा लोपोन्मुख राउटे समुदायका व्यक्तिहरूसमेत सहभागी भएका छन्।

रविका पक्षमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि हस्ताक्षर गरेका छन्। उनले पुराना राजनीतिक दलले नयाँ दललाई सिध्याउने  चेष्टा गरेको आरोप लगाए। राजनीतिज्ञमा भट्टराई मात्र होइन, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि पनि रविका पक्षमा देखिएका छन्।

हस्ताक्षर अभियानले कसरी जेलमुक्त हुन्छन् रवि?


हस्ताक्षर अभायनले रवि जेलमुक्त हुने होइन। अदालतले गरेको आदेशको पालना गर्नुको कुनै विकल्प छैन। बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उल्टाएपछि लामिछाने कारागार चलान भएका थिए।

त्यसपछि रास्वपाले सरकारले लामिछानेमाथि राजनीतिक प्रतिशोध साधेको भन्दै नागरिकको हस्ताक्षर संकलन गरिरहेको छ। हस्ताक्षर अभियान चलाएर न्यायालयलाई प्रभाव पार्न खोजेको भन्नेसमेत रास्वपालाई आरोप लागेको छ।

रास्वपा हस्ताक्षर अभियान चलाएर न्यायालयलाई प्रभाव पार्न खोजिएको भन्ने आरोपको खण्डन गर्छ। रास्वपाका प्रवक्ता मनिष झा सरकारले लामिछानेमाथि प्रतिशोध साधेको छ है भन्ने बुझाउनका लागि अभियान चलाइएको बताउँछन्।

‘हस्ताक्षर अभियानले जनताको अभिमत देखाउँछ। हाम्रो जे माग छ, जे काम भइरहेको छ त्यसमा समर्थन जनाउन अभिमत संकलन गरिरहेका छौँ’, उनी भन्छन्, ‘अभियान भनेको प्रतिशोध साधिएको हो भन्ने बुझाउन हो।’

उनले राज्यले व्यक्तिमाथि प्रतिशोध साध्दा अन्य देशमा पनि यस्ता अभियान चलाइएको बताए। ‘नेल्सन मण्डेला, महात्मा गान्धी, मार्टिन लुथर किंग, आङसाङ सुकी, नेपालमै पनि सिके रावत, रेशम चौधरी, शेरबहादुर, गगन थापा सबैले विभिन्न कालखण्डमा हस्ताक्षर अभियान सञ्चालन गर्नुभएको छ’, झाले भने ‘यो सबै अभिमत हो।’

रास्वपा अभिमत संकलन गर्ने भन्दै गर्दा राजनीतिक विश्लेषक देवराज दाहाल अभिमत देखाएर अदालतलाई प्रभाव पार्ने अभियानमा रास्वपा रहेको देख्छन्। ‘हिजो अन्य दलले गरेको जस्तै रास्वपा पनि बाहिरबाट प्रभाव पार्ने बाटोमा गयो’, उनी भन्छन्।

हिजोका दिनमा अदालत बाहिर मान्छे भीड बनाएर अदालतलाई त्रास दिएका घटनाहरू रहेको भन्दै दाहालले त्यसकै निरन्तरतामा रास्वपा रहेको बताउँछन्। न्यायाधीश पनि यही समाजकै व्यक्ति रहेको भन्दै हस्ताक्षर अभियानले अदालतलाई प्रभाव पार्ने उनको बुझाइ छ।

२० दिनमा १५ लाख हस्ताक्षर, ३७ लाख सहयोग प्राप्त


रास्वपाले जनताको हस्ताक्षर संकलन थालनी गरेको बिहीबार (जेठ २६ गते)सम्म २० दिन भयो। २० दिनमा देश र बाहिरबाट गरी १५ लाख हस्ताक्षर संकलन भइसकेको छ। जिल्लाबाट संकलन गर्ने काम भइरहेको प्रवक्ता झाले जानकारी दिए।

विदेशका विभिन्न देशमा पनि हस्ताक्षर संकलन भइरहेको छ। विदेशमा अनलाइनबाट हस्ताक्षर संकलन गर्ने कार्य भइरहेको छ। झाका अनुसार विदेशमा भएकाहरूले अनलाइनमा भएको फारम डाउनलोड गर्ने र हस्ताक्षर गरेर म्यासेन्जर, ह्वाटस् एपलगायतमा पठाउने गरिरहेका छन्।

रास्वपाले हस्ताक्षर अभियानसँगै आर्थिक सहयोग पनि उठाइरहेको छ। पार्टी स्थापना दिवसका अवसरमा लामिछाने जारी गरेको अपील पत्र प्रकाशनका लागि आर्थिक संकलन गरिएको रास्वपाले बताएको छ।

२० दिनमा ३७ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको झाले बताए। हस्ताक्षर गर्ने हरेक व्यक्तिलाई एउटा अपील पत्र दिनका लागि चार रूपैयाँ खर्च भइरहेको भन्दै प्राप्त सहयोग यही अपील पत्र प्रकाशन गर्नका लागि प्रयोग गरिएको उनले जानकारी दिए।

उनले आर्थिक सहयोग आफूखुसी गर्न सकिने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?