
काठमाडौँ – नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंकले आफ्नो स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२औँ वर्षमा प्रवेश गरेको छ। सन् १९८४ मा स्थापित यस बैंकले चार दशकभन्दा बढी समयदेखि नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
बैंकले आफ्नो सेवा र उत्पादनलाई ग्राहक केन्द्रित बनाउँदै आज नेपालको पहिलो नम्बरको बैंकका रूपमा आफूलाई स्थापित गरेको छ। वित्तीय सेवाका साथै दिगो बैंकिङलाई पनि प्राथमिकता दिँदै समाज र वातावरणमै सकारात्मक प्रभाव पार्ने कार्यमा बैंक सक्रिय छ।
४१औँ वार्षिकोत्सवका अवसरमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज कुमार ज्ञवालीले राष्ट्रको आर्थिक समृद्धिमा बैंकको निरन्तर योगदानलाई गर्वका साथ स्मरण गर्दै आगामी दिनमा पनि उत्तरदायी, नवीन र दिगो बैंकिङ अभ्यासमार्फत अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले सम्पूर्ण ग्राहक, कर्मचारी, नियामक, सरकारी निकाय, शेयरधनीलगायत सरोकारवालालाई साथ र सहयोगका लागि आभार व्यक्त गरे।
नबिल बैंकले २०८२ असार २६ सम्म कूल ४ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको कर्जा व्यवस्थापन गरेको छ भने ५ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गरेको छ। बैंकको कुल सम्पत्ति ६ खर्ब ११ अर्ब ८६ करोड २० लाख र कर पछिको नाफा ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। कृषि, ऊर्जा, र सूक्ष्म, लघु तथा मझौला उद्यमजस्ता महत्त्वपूर्ण क्षेत्रमा बैंकको कर्जा प्रवाह उल्लेखनीय छ, जसले उत्पादन वृद्धि र रोजगारी सिर्जनामा योगदान पुर्याएको छ।
हाल बैंकका २६८ शाखा, ३२१ एटिएम र २१ एक्स्टेन्सन काउन्टरमार्फत करिब २५ लाख ग्राहकलाई सेवा प्रवाह भइरहेको छ।
वार्षिकोत्सवका विशेष योजनाहरू: बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहकहरूप्रति आभार व्यक्त गर्दै ४१ दिने विशेष अफर ल्याएको छ। यसअन्तर्गत असार २८ गतेदेखि भदौ ५ गतेसम्म नयाँ बचत खाता खोल्ने सबै ग्राहकलाई पहिलो वर्षको लागि डेबिट कार्ड निःशुल्क प्रदान गरिनेछ।
त्यस्तै, महिलालाई लक्षित गर्दै ‘नबिल स्मार्ट नारी घर कर्जा’ योजना सार्वजनिक गरिएको छ। यस योजनाअनुसार महिला आवेदकले घर खरिद, निर्माण, मर्मतसम्भार वा आवास कर्जा सार्नका लागि न्यूनतम ७ लाखदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा सजिलो सर्तमा प्राप्त गर्न सक्नेछन्।
पहिलोपटक घर खरिद गर्ने महिलाका लागि ७० प्रतिशतसम्म कर्जा सुविधा र अधिकतम ३५ वर्षको अवधिमा कर्जाको आधार दरमा १.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा पाइनेछ। यस योजनामा पूर्वभुक्तानी शुल्क नलाग्ने र जीवनभर निःशुल्क क्रेडिट कार्डको सुविधा पनि उपलब्ध हुने बैंकले जनाएको छ।