
वीरगन्ज – मानव अधिकारको संरक्षणमा सरकारका निकाय र नागरिक समाज दुवैको सामूहिक पहलको आवश्यकतामा जोड दिँदै वीरगन्जमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल मानव अधिकार शिक्षा समाज र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजनामा शनिबार भएको उक्त कार्यक्रममा सहभागीहरूले मानव अधिकारको रक्षामा सबैको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।
कार्यक्रममा बोल्ने वक्ताहरूले मानव अधिकार उल्लङ्घनका बढ्दो घटनाप्रति चिन्ता व्यक्त गर्दै विशेषगरी मधेश प्रदेशमा देखिएका मानव अधिकारका नयाँ चुनौतीहरूबारे प्रकाश पारेका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले देशभर मानव अधिकार उल्लङ्घनका घटना बढ्दै गएको स्वीकार गर्दै मधेश प्रदेशमा भने विभिन्न प्रकृतिका घटनाहरू बाहिरिन थालेको बताए। उनले वीरगन्ज र पर्सामा खानेपानीको समस्या, विवाहको १५ वर्ष भइसक्दा पनि बच्चाको जन्मदर्ता नबनाइदिने लगायतका मानव अधिकार उल्लङ्घनका घटनाहरू आफ्नो कार्यालयमा आउने गरेको जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी अर्यालले विगतमा वीरगन्जमा भएका विभिन्न घटनाहरूमा प्रहरीले संयमता अपनाउँदै जनताको मानव अधिकारको रक्षा गरेको स्मरण गर्दै अब मानव अधिकारको रक्षा राज्य पक्षले मात्र गर्नुपर्छ भन्ने मानसिकता त्यागेर सबैले यसको रक्षामा लाग्नुपर्नेमा जोड दिए।
उनले मानव अधिकारबारे जानकारी नभएका व्यक्तिहरूसम्म यो शिक्षा पुर्याउन आवश्यक रहेको बताए। विशेषगरी मधेश प्रदेशमा न्यायिक समितिका प्रतिनिधिहरू सक्रिय नदेखिएको भन्दै उनले त्यस्ता पदाधिकारीहरूलाई मानव अधिकारबारे जानकारी दिनु आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मानव अधिकारको रक्षा गर्ने निकाय तथा राज्यबाटै यसको उल्लङ्घन भइरहेकोप्रति गहिरो चिन्ता व्यक्त गरे। नेपाल मानव अधिकार शिक्षा समाजका प्रशिक्षण विभाग प्रमुख प्रा.डा. गोविन्द प्रसाद ढकालले मानव अधिकार हरेक क्षेत्र, हरेक तह र हरेक व्यक्तिले समान रूपमा पाउनुपर्नेमा जोड दिँदै समाजमा सकारात्मक विभेद अर्थात् समान प्रतिस्पर्धाको अवस्था सिर्जना हुनुपर्नेमा विशेष जोड दिए।
नेपाल बार एसोसिएसन पर्साका निवर्तमान अध्यक्ष कमल मोहन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, अधिवक्ताहरू, विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरू र प्रहरी लगायतको सहभागिता रहेको थियो।