
काठमाडौंँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सराेज गुरागाईंबीचकाे तिक्तता मञ्चसम्मै देखिएकाे छ।
बालेन-गुरागाईंकै विवादका कारण असार १० अनिवार्य ल्याउनुपर्ने बजेट ढिला गरी असार २९ गते आज मात्र महानगरले ल्यायाे।
मञ्चकाे अध्यक्षता प्रमुखले गर्नुपर्ने प्रावधानअनुसार बालेनले आजकाे १७ औँ अधिवेशनकाे अध्यक्षता गरे।
दायाँतर्फ उपप्रमुख सुनिता डंगाेल र बायाँतर्फ सभाका सचिवका रूपमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं भए पनि बालेन र गुरागाईंकाे साैहार्दता देखिएन।
मञ्चमा बेलाबेला बालेन र सुनिताबीच कुराकानी भएकाे देखिए पनि बालेन र गुरागाईंबीच भने हेराहेरसमेत हुन सकेन।
यसले बालेन र गुरागाईंबीचको तिक्तता मञ्चसम्मै छरपस्ट भयाे। यतिसम्म कि सचिवका रूपमा बालेनले गुरागाईंलाई सम्बोधनसमेत गरेनन्।
यद्यपि, सुनिताले भने सभाका सचिवज्यू भनेर बजेट प्रस्तुत गर्दा सम्बाेधन गरेकी थिइन्।
बालेनले भने उपप्रमुख र कार्यपालिका सदस्य भन्दै सम्पूर्ण कर्मचारी भनेर सम्बाेधन गरे। सचिवलाई सम्बाेभन गरेनन्। यसले बालेन र गुरागाईंबीच सम्बन्ध अझै सुध्रन नसकेकाे देखिन्छ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख डंगाेलले महानगरमा केही समस्या आएकाे र समाधानसमेत हुँदै गइरहेकाे बताएकी थिइन्।
मुख्यतः समस्या भनेकाे बालेनले गुरागाईंलाई कारबाही गर्नु नै हाे। काठमाडौँ भ्यू टावरका विषयमा बालेनले कारबाही गरे पनि जबरजस्ती संघीय सरकारले गुरागाईंलाई महानगरमा पठाएकाे थियाे। यसले बालेन र गुरागाईंबीच थप द्वन्द्व बढाएकाे थियाे।
मञ्चमा बसिरहँदा बालेन र गुरागाईं दुवै असहज देखिए पनि बालेन सभा सकेर निस्किसकेपछि भने गुरागाईं खुलेका थिए र मुस्काएका थिए। उनले मुस्कानसहित उपप्रमुख डंगाेलसँग तस्बिरसमेत खिचाएका थिए।
तस्बिरहरु: बर्षा शाह/देशसञ्चार।