
धनगढी – खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबीच ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत लागत सहभागिता समझदारीपत्रमा हस्ताक्षर भएको छ।
धनगढीमा आयोजित एक कार्यक्रममा खानेपानीमन्त्री प्रदीप यादव तथा सुदूरपश्चिम प्रदेश सरकार, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालको सहभागितामा उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।
खानेपानी मन्त्रालयका सहसचिव कमलराज श्रेष्ठका अनुसार, यो आयोजना कर्णाली प्रदेशका दुई स्थानीय तहहरू (वीरेन्द्रनगर नगरपालिका र शारदा नगरपालिका) र सुदूरपश्चिम प्रदेशका चार स्थानीय तहहरू (दिपायल सिलगढी नगरपालिका, जानकी गाउँपालिका, बर्दगोरिया गाउँपालिका र जोशीपुर गाउँपालिका) मा कार्यान्वयन हुनेछ।
सुदूरपश्चिम प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले सम्बन्धित स्थानीय तहमा लागत सहभागिता सुनिश्चित गर्न, कार्यान्वयनको प्रभावकारी अनुगमन तथा प्रतिवेदन व्यवस्थापन गर्न सङ्घीय खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारबीच सहकार्यका लागि यो समझदारी गरिएको जनाएको छ।
खानेपानीमन्त्री प्रदीप यादवले यस सहकार्यले खानेपानी क्षेत्रमा महत्त्वपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गर्दै सम्बन्धित सबै तह, निकाय र साझेदारलाई धन्यवाद ज्ञापन गरे।
‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) र नेपाल सरकारबीच वित्तीय सम्झौता भएको छ। यस आयोजनाको अवधि जुलाई १५, २०२८ सम्म रहेको छ।