
झापा – झापाको अर्जुनधारा नगरपालिकाको कार्यपालिका बैठक नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूको बहिष्कारका कारण स्थगन भएको छ।
सोमबार बिहान बस्ने गरी तय भएको बैठक कांग्रेसका तर्फबाट निर्वाचित ७ जना वडाध्यक्षहरूले बहिष्कार गरेपछि अपराह्नका लागि सारिएको थियो, तर उनीहरूले सो बैठकमा समेत सहभागी नहुने अडान लिए।
नेपाली कांग्रेस अर्जुनधाराका प्रवक्ता तथा वडा नं। ९ का अध्यक्ष भिष्म मिश्रले अर्जुनधारा–५ का वडाध्यक्ष गीताराज खड्का (हरि) माथि लागेको आरोपका सम्बन्धमा नगरप्रमुख र उपप्रमुखले कुनै पहल नगरेको भन्दै कांग्रेसका वडाध्यक्षहरूले बैठक बहिष्कार गर्ने निर्णय गरेको बताए।
नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको असार २२ गते बसेको आकस्मिक बैठकले अर्को निर्देशन नभएसम्म अर्जुनधारा नगरपालिकाको बैठकमा पार्टीका तर्फबाट निर्वाचित वडाध्यक्षहरू सहभागी नहुने निर्णय गरेको नगर सभापति हेमप्रसाद खरेलले जानकारी दिए।
विवादको मुख्य कारण
वडाध्यक्ष खड्का र जिल्ला समन्वय समितिकी सदस्य रिता नेपालीबीचको विवादका कारण सत्ता साझेदार कांग्रेस र एमालेबीचको सम्बन्ध चिसिएको हो। वडाध्यक्ष खड्काले रिता नेपालीको पर्खाल भत्काएको घटनालाई लिएर दुवैबीच विवाद भएको थियो।
जिल्ला समन्वय समितिकी सदस्य एवम् दलित नेतृ नेपालीले आफूमाथि वडाध्यक्ष खड्काले लामो समयदेखि जातीय विभेद र अभद्र व्यवहार गर्दै आएको आरोप लगाउँदै जातीय विभेदको मुद्दा दर्ता गरेपछि दुवै सत्ता साझेदार दल आमनेसामने भएका छन्।
गत बिहीबार नेपालीको पर्खाल भत्काइएको थियो।
कांग्रेसको दाबीअनुसार, रिता नेपाली र राजवंशी परिवारबीचको जग्गाको सीमा विवाद मिलाउन जाँदा आफ्नो पक्ष नलिएको भन्दै एमाले नेताको उक्साहटमा वडाध्यक्ष खड्काबिरुद्ध जातीय विभेदको मुद्दा दर्ता गरिएको हो।
नेपालीले कांग्रेस अर्जुनधारा–५ का सभापति तथा वडाध्यक्ष खड्कासँगै रिता नेपालीकी छिमेकी सुनिता र उनकी आमा सुमित्रा राजवंशीमाथि मुद्दा दर्ता गरेकी छन्। सुनितालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने वडाध्यक्ष खड्का र सुमित्रा राजवंशी पक्राउ परेका छैनन्।
अर्जुनधारा नगरपालिकामा वडा नं। १ बाट उपेन्द्र बस्नेत, २ बाट सिद्धार्थ श्रेष्ठ, ३ बाट सिताराम भट्टराई, ४ बाट अमरबहादुर कट्वाल, ५ बाट गीताराज खड्का ९हरि०, ६ बाट हरिश्चन्द्र बास्तोला र वडा नं। ९ बाट भिष्म मिश्र गरी कांग्रेसका ७ जना वडाध्यक्ष रहेका छन्। ५५ सदस्यीय नगर कार्यपालिकामा कांग्रेसका १४ जना सदस्य छन्।