
प्युठान- सामाजिक विकास डिभिजन कार्यालयले एकल महिलाहरूका लागि आयोजना गरेको क्षमता विकास कार्यक्रमबाट प्युठानका ६४ वडाबाट करिब १ सय ५० जना महिलाले ‘रातो अबिर अभियान’को सुरुवात गरेका छन्।
श्रीमान गुमाएर एकल जीवन बिताइरहँदा पनि सेतो पहिरनमा सजिँदा समाजमा अपहेलित हुनुपरेको बताउँदै एकल महिलाहरुले रातो अबिर अभियान अवलम्बन गरेका हुन्। रातो रंग श्रीमानको उपहार नभएर प्रकृतिको उपहार भएकोले एकल हुँदा रातो रंग प्रयोग गर्न हुँदैन भन्ने सामाजिक कु-संस्कार भएकोले कस्तो रंग पहिरन गर्ने भन्ने महिलाहरुलाई स्वतन्त्रता हुने कार्यक्रममा सहभागीहरुले बताए ।
एकल महिलाहरुको क्षमता विकास गर्ने उद्देश्यले आइतबार र सोमबार गरि जुम्रीमा आयोजित कार्यक्रममा सहभागी एकल महिलाहरुले आफ्ना दु:ख,कठिनाई र समाजबाट भएका हेपाई सुनाउँदै सबारी साधनमा समेत चढ्दा साइत बिग्रने भन्दै चालकले नचढाएको दुखेसो पोखे ।
समाजले एकल महिलाहरूलाई तिरस्कृत गरिरहेको, राजनैतिक दलहरुले पनि महिलाहरुको संवैधानिक हक कुण्ठित गरिरहेकोले ‘रातो अबिर’ अभियानसँगै अधिकारको उपभोगमा लाग्ने एकल महिलाहरुले उद्घोष गरेका छन् ।
एकल महिलाको उक्त अभियान अब प्युठानको ६४ वडा र सिंग लुम्बिनी प्रदेशभरी पुर्याउनु पर्ने उद्घाटन समारोहका प्रमुख अतिथी तथा लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीमगरले बताए।
समापन कार्यक्रममलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद निमा गिरीले प्रमुख जिल्ला अधिकारिलाई एकल महिलाको समस्यालाई प्रो एक्टिभ भएर चासो दिन र हिंसा हुन नदिन महत्त्वपूर्ण भूमिका निर्बाह गर्न अनुरोध गरेकी छन्।