
भारतीय अभिनेता, निर्माता तथा निर्देशक धीरज कुमारको निधन भएको छ। उनको ८० वर्षको उमेरमा मंगलबार निधन भएको हो।
उनलाई शनिबार निमोनियाका कारण मुम्बईको कोकिलाबेन धीरूभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो।
धीरज कुमारले आफ्नो करियरको सुरुवात १९६० को दशकमा एक चर्चित पत्रिकाद्वारा आयोजित ट्यालेन्ट हन्ट प्रतियोगिताबाट गरेका थिए। त्यसपछि उनले हिन्दी तथा पञ्जाबी चलचित्रमा अभिनय गर्दै आफ्नो नाम कमाए।
उनले ‘उधार का सिन्दूर’, ‘सरगम’, ‘रोटी कपडा और मकान’, ‘स्वामी’, ‘रातों का राजा’, ‘हीरा पन्ना’, ‘क्रान्ति’, ‘माग भरो सजना’, ‘पुराना मन्दिर’, ‘कर्म युद्ध’ र ‘बहुरूपिया’ जस्ता दर्जनौँ हिन्दी फिल्महरूमा अभिनय गरेका थिए।
हिन्दी चलचित्रमा काम गर्नुअघि धीरज कुमारले २० भन्दा बढी पञ्जाबी चलचित्रहरूमा पनि अभिनय गरेका थिए।
सन् १९८६ मा उनले आफ्नो प्रोडक्सन कम्पनी ‘क्रिएटिभ आई’ स्थापना गरेका थिए। यस कम्पनीमार्फत उनले विभिन्न चलचित्र र विशेषगरी लोकप्रिय पौराणिक धारावाहिकहरू निर्माण गरेका थिए।