
काठमाडौँ – इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि काठमाडौँ गोर्खाजको टाइटल स्पोन्सर बन्ने भएको छ।
सम्झौता पत्रमा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोजकुमार अग्रवाल र काठमाडौँ गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाले हस्ताक्षर गरे।
सम्झौतापछि अग्रवालले भने, ‘हाल नेपालमा क्रिकेट सबैभन्दा लोकप्रिय खेल हो र यसले सबै उमेर समूहका मानिसलाई जोडेको छ। हामी वर्ल्डलिंकले लामो समयदेखि ग्रासरुट तहमा क्रिकेटको समर्थन गर्दै आएका छौँ। अब काठमाडौँ गोर्खाजमार्फत हामीले त्यो साथ अझ व्यावसायिक तहमा विस्तार गर्ने अवसर पाएका छौँ। वित्तीय पक्षभन्दा पनि महत्वपूर्ण कुरा भनेको हामीजस्ता कम्पनीहरू नेपाल प्रिमियर लिगजस्ता लिगहरूसँग जोडिनु हो। खेलको दीर्घकालीन प्रगतिको लागि यस्ता सहकार्यहरू आवश्यक छन्।’
यस्तै, काठमाडौँ गोर्खाजका कार्यकारी निर्देशक सिरोहियाले भने, ‘कुनै पनि लिगको सफलता ठूला कम्पनीहरूको सहभागितासँग जोडिएको हुन्छ। हामीलाई खुशी लाग्छ कि वर्ल्डलिंकजस्तो प्रतिष्ठित ब्रान्ड अब हाम्रो टोलीमार्फत नेपाल प्रिमियर लिगसँग जोडिएको छ। यस साझेदारीसँगै हामीले प्रतियोगितामा नयाँ लक्ष्यहरू तय गरेका छौँ र तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।’
आगामी सिजनका लागि काठमाडौँ गोर्खाजले नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ। साथै, टोलीले करण केसी (मार्की खेलाडी) सहित भिम सार्की, शाहब आलम, रशिद खान, दिपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ।