
सिमकोट – एक जना कुष्ठरोगका बिरामीको अवस्था नाजुक बन्दै गएको छ। रोग लागेदेखि चार वर्षयता उपचार गर्ने भन्दा पनि घरपरिवारबाट छुट्टै राखिदै आएका कुष्ठरोगका ती बिरामी हाल हिँडडुल गर्नसमेत नसक्ने भएपछि अबस्था दैनिक नाजुक बन्दै गएको हो।
सिमकोट गाउँपालिका– ८ को याङ्गु गाउँका ७२ वर्षका धनबिर कामीलाई कुष्ठ रोगले नाजुक अवस्थामा पुर्याएको उनलाई भेटेर आएका नेपाल नेपाल पत्रकार महासंघ हुम्ला शाखाका कोषाध्यक्ष मन्दिर सिंहले बताए। उनका अनुसार कुष्ठ रोगी कामीलाई यो रोग लागेको छ वर्ष पुरा भएको छ।
हाल आफ्नै घरमा थला परेर उपचारको पर्खाईमा रहेका छन। कुष्ठ रोगी कामीले सुरुका दुई वर्षसम्म हिँडडुल गर्न सक्ने र जिल्ला अस्पतालमा आएर उपचार समेत गरेका थिए। चार वर्षयता भने उनको कुनै उपचार हुन सकेको छैन। आर्थिक अवस्था पनि दयनीय भएको कारण उपचार पनि सहज देखिएको छैन। कान पनि कम सुन्ने कामी हिडडुल गर्न नसक्ने भएपछि दिसापिसाव गर्न घिस्रेर जाने गर्दै आएका छन।
उनलाई घरको छतमा एउटा सानो कोठा बनाएर राखिएको छ। झुत्रा कपडाको ओड्ने र ओछ्याउने ब्यवस्था गरिएको छ। कुष्ठरोगी कामीलाई उनका दुई भाईले एक एक महिनाको आलोपालोमा खानाको ब्यवस्था गर्दै आएका छन्।
कामीको कसैसंग बोलचाल समेत हुने गरेको छैन। यसले गर्दा कामीको अबस्थामा हेर्दा दयनीय रहेको छ। कामीले आफुसंग इसारा गर्दै उपचारमा सहयोग गर्न आग्रह गरेको सिंहले बताए। उपचार गर्न जाने अबस्था नभएका कामीलाई सहयोगी निकायको आवश्यकता रहेको छ। उनको अपाङ्ग कार्ड सिमकोट गाउँपालिकाले उपलब्ध गराएको छ। तर कामीका आफन्तका अनुसार हालसम्म सहयोग भने कतैबाट प्राप्त भएको छैन।