झापा – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आफ्नो निर्वाचन क्षेत्र झापा २ मा कम्तीमा एक घर एक फलफूलका विरुवा रोप्ने अभियान गर्न लागेको बताएका छन्।
झापाको बिर्तामोड नगरपालिकाको नयाँ प्रशासनिक भवनको बुधबार उद्घाटन गर्दै उनले बन कार्यालय तथा स्थानीय तहसँगको समन्वयमा उक्त अभियान सुरु गर्न लागिएको बताए।
सभामुख घिमिरेले भने, ‘रुख विरुवा जोगाउन सकियो भने हाम्रो अस्तित्व पनि जोगिन्छ। पर्यावरण जोगिन्छ।’ वृक्षरोपणले जलवायु परिवर्तनका असरहरूमा न्यूनीकरणमा सहयोग पुग्ने उनले बताए। उनले भने, ‘हामीले त जलवायु परिवर्तनका असर देख्नमात्र थाल्यौं। हामी भन्दा पछाडिको पुस्ताले यस्का गम्भीर असर भोग्नुपर्ने अवस्था निश्चित छ।’
सकिन्छ भने देशव्यापी, नसकिए निर्वाचन क्षेत्र व्यापी यो कार्यक्रमलाई अगाडि लैजानका लागि सहयोग गर्न सबैलाई सभामुख घिमिरेले आग्रह गरे।
घिमिरेले संसद्मा विचाराधीन भूमिसम्बन्धी विधेयक चाँडै अनुमोदन हुने विश्वास व्यक्त गरेका छन्।
सयौँ भूमिहीनहरूलाई जग्गाको मालिक बनाउन आवश्यक रहेको उल्लेख गर्दै विगतका आयोगले राजस्व महंगो भएका कारण तयारी धनीपूर्जाहरू वितरणमा समस्या भएको गुनासो आएको सभामुख घिमिरे स्मरण गरे।
वर्तमान सरकारले जग्गाको राजस्व घटाएर पाँच प्रतिशत बनाएपछि धनीपूर्जा लिन तयार हुनेहरूको सङ्ख्यामा बृद्धि भइरहेको उनले बताए।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































