
काठमाडौँ – २०८१ सालको ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०८१’ बाट वरिष्ठ गायिका चन्द्रकला शाह तथा वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानलाई सम्मान गरिएको छ।
भक्तराज आचार्य संगीत प्रतिष्ठान तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा शनिबार कुपण्डोलस्थित होटल हिमालयमा आयोजित सांगीतिक समारोहमा प्रतिष्ठानका संरक्षक सुशीला आचार्य तथा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले जनही एक लाख रुपैयाँ राशिसहितको उक्त सम्मानले गायिका शाह तथा संगीतकार मोक्तानलाई सम्मानित गरेका हुन्।
समारोहमा प्रतिष्ठानले यो वर्षको ‘सुशीला आचार्य सुस्वास्थ कामना सम्मान–२०८१’ बाट दिवंगत कलाकार घनश्याम गौतमलाई ताम्रपत्रसहित सम्मानित गरेको छ।
क्यान्सरले बितेका कलाकार घनश्याम गौतमकी धर्मपत्नी घनज्योती गौतमले पुरस्कार ग्रहण गरेकी थिइन्।
समारोहमा सम्मान ग्रहण गरेपछि गायिका शाहले भजन शिरोमणि भक्तराज आचार्यलाई स्मरण गर्दै उनको नेपाली सांगीतिक क्षेत्रको योगदानका बारेमा चर्चा गरेकी थिइन्।
संगीतकार शिलाबहादुर मोक्तानले काठमाडौँ आएपछि रेडियो नेपाल पुगेर पहिलो पटक भेटेको संगीतकर्मी नै भक्तराज आचार्य भएको स्मरण गर्दै आचार्यको मार्गदर्शनले आजसम्म सांगीतिक क्षेत्रमा सक्रिय रहन सहयोग पुगेको धारणा व्यक्त गरे।
समारोहमा गायक स्वरुपराज आचार्यले आफ्ना बुवा तथा भजन शिरोमणि भक्तराज आचार्यको सांगीतिक पाटोको चर्चा गर्दै संगीतकर्मी सुरजकुमार थापाको गिटारवादनमा एउटा कालजयी गीत प्रस्तुत गरेका थिए।