
९० को दशकमा ‘मेरी ओकिली’, ‘झ्याबाट हेर’ जस्ता गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रियता कमाएका गायक अनिस ‘ओकिली’ सापकोटाले नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन्।
यी गीतले नेपाली दर्शकमाझ र विश्वभरि छरिएका नेपाली डायस्पोरामा व्यापक लोकप्रियता पाएका गायक ओकिलीले अमेरिकामा बसेर पनि नेपाली संगीतलाई निरन्तरता दिँदै आएका छन्। उनले यो गीतमा शब्द, संगीत र स्वर आफैँले प्रदान गरेका छन्।
‘मैले अमेरिकामा पनि नेपाली दाजुभाइरदिदीबहिनीका लागि गीत गाइरहें, कहिल्यै छोडिनँ र निरन्तरता दिइरहेको छु । यसपटक गीत तयार गर्नुका साथै भिडियोमा आफैं प्रस्तुत हुनु मेरो लागि फरक अनुभव रह्यो’, उनले भने।
उनले लगभग तीन महिनामा यो गीतलाई तयार गरेका हुन्। पप-सफ्टरक विधामा पर्ने गीतमा उनले मायाको वर्णन गरेका छन्। यसपटक म्युजिक भिडियोमा समेत उनी आफैं प्रस्तुत भएका छन्। गीतमा ओकिलीसँगै एरिशा श्रेष्ठले मोडलिङ गरेकी छन्। गीतको भिडियो गायक तथा संगीतकार जेम्स प्रधानले तयार पारेका हुन्, जसमा छायांकन, सम्पादन, रंग संयोजन र निर्देशन उनकै रहेको छ। अमेरिकाको रमणीय दृश्यमा खिचिएको यो गीतले दर्शकको ध्यान तान्नेमा ओकिली विश्वस्त छन्।
पछिल्लो समय ‘रिदम काठमाडौँ’ नामक गीतिसंग्रह ल्याएका ओकिलीले यसपटक सिङ्गल ट्रयाक ल्याएका छन्।
नेपाली–अमेरिकी संगीतकार ओकिलीले १९९० को दशकमा नेपालमा ‘ओकिली’ ब्यान्डको संस्थापक सदस्यका रूपमा संगीत यात्रा सुरु गरेका थिए। ‘गुलाबी जाडो’, ‘जुनेली रात’, ‘तिम्रो बानी ब हो’, ‘तिमी नै राम्री’ र पछिल्लो ‘सिमला भुवा’ मार्फत उनले विश्वभरका नेपाली दर्शकमाझ पहिचान बनाएका छन्।
हाल अमेरिकास्थित क्यालिफोर्नियाको स्याक्रामेन्टोमा बस्दै आएका उनी आधुनिक नेपाली पप र भावनात्मक कथावस्तुको मिश्रणमा परिचित छन्। संगीत र संस्कृतिको योगदानका लागि उनले नोबेल पुरस्कार विजेता डाक्टर चार्ल्स टाउन्सद्वारा प्रदान गरिएको ‘युथ अचिभमेन्ट अवार्ड’ प्राप्त गरेका छन्। दुई दशक लामो सांगीतिक यात्रामा उनी निरन्तर नयाँ रचना र उत्पादनमा सक्रिय छन्, जसले उनको छुट्टै पहिचान स्थापित गरेको छ।