हुम्ला – नाम्खा गाउँपालिका– ६ को हिमालपारि लिमीको हल्जी गाउँवासी रसुवामा चिनियाँ हिमताल फुटेर हिमपहिरो जाँदा ठूलो क्षति भएपछि झस्किन थालेका छन्। उक्त गाउँको माथि ठुल्ठूला हिमताल भएका कारण बेला–बेला ती ताल फुटेर हिमपहिरो आइरहने भएकालो यतिबेला लिमीको हल्जीवासी बढी झस्किएका हुन्।
लिमी हल्जीका स्थानीय बर्खा पनि लाग्यो अब गाउँमाथि रहेका हिमताल फुटेर हिमपहिरो आउन सक्ने त्रासले गाउँवासी सबै चिन्तित भएका छन्। केही वर्षको अन्तरमा बेला–बेला सो हिमताल फुटेर हिमपहिरो आउने गर्छ। यस वर्ष वर्षा पनि धेरै हुने जानकारी आएकाले स्थानीयवासी बढी चिन्तित भएका हुन्।
आठ वर्षअगाडि हिमपहिरो आएर खेती लगाएको जग्गा–जमिन बगाएको, लघुजलविद्युत्, घट्ट, काठे पुल बगाएर लगेको सम्झँदै स्थानीयले केही घरको नजिकबाट पहिरो गएका कारण अहिले पनि जोखिम कायमै रहेको महसुस गरिरहेका छन्।
लिमीको हल्जी गाउँका फुर्बा तामाङले जेठ १ गते राति लिमीकै तिल गाउँमा हिमताल चुहिएर पहिरो जाँदा भएको क्षतिलाई सम्झँदै आफ्नो गाउँ पनि हिमपहिरोको उच्च जोखिममको रहेको बताए।
गाउँवासीबीच बसेपछि हिमपहिरोको बढी चर्चा हुने गरेको बताउँदै हिमपहिरो आइहाले आफूसँग बच्ने उपाय पनि नभएको उनको भनाइ छ।
लिमीका तीन गाउँमध्ये हल्जी गाउँ सबैभन्दा बढी हिमपहिरोको जोखिममा रहेको गाउँ हो। तीन हजार ९३८ मिटर उचाइमा रहेको हल्जी गाउँमा पानी पर्न थालेपछि बढी चिन्ता लाग्ने उनले बताए।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले हिमपहिरोको जोखिम भए पनि गाउँमा बस्नुपर्ने बाध्यता रहेको बताए। गाउँबाट निकै माथि अग्लो क्षेत्रमा पुरानो र निकै ठूलो लामा भाषामा खाँची हिमताल भएको र त्यो ताल बेला–बेला फुटेर गाउँ नजिकै हिमपहिरो आइरहने गरेको जानकारी दिँदै उनले दुई दिनअगाडि रसुवामा गएको हिमताल फुटेर गएको पहिरोका कारण ठूलो क्षति भएको जानकारी आइरहेकोले हल्जी गाउँवासी बढी चिन्तित भएको बताए। सो स्थानमा पाँच वटा हिमताल छन्।
तीमध्ये एउटा ठूलो र अन्य भने साना खालका छन्। गत वर्ष ताल भएको स्थानमा आफू पुगेकाले हिमताल फुटे हल्जी गाउँले ठूलो क्षति ब्यहोर्नुपर्ने उनले बताए। अहिले लिमीमा पनि नेपाल टेलिकमको फोर जी सेवा सुचारु भएकाले इन्टरनेट सञ्चालनमा आउँदा लिमीका स्थानीयलाई पनि देशभर भएको बाढी पहिरोको घटना जानकारी हुन थालेपछि अझ बढी त्रसित हुन पुगेका छन्।
लिमीको हल्जी गाउँ उत्तरतर्फ हिमतालको जोखिममा छ भने अन्य तीनतिर हिमपहिरोको जोखिम छ। दक्षिणतर्फ पनि हिमाल रहेको सो हिमालबाट तक्लु खोलाबाट हिमपहिरो आएर तलको लिमी कर्णाली रोकिने गरेको विगत रहेको उनले बताए।
हल्जी गाउँमा ९१ घरधुरीको बसोवास हुँदा ४१३ जना मानिस बसोवास गर्दै आएका छन्। जिल्ला विपद व्यवस्थापन समितिले पनि लिमीको हल्जी गाउँलाई सबैभन्दा उच्च जोखिममा रहेको बस्तीमा सूचीकृत गरेको छ।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































