त्रिवेणी (रुकुम पश्चिम) – रुकुम पश्चिममा गत आर्थिक वर्ष २०८१/८२ मा १० हजार बढी बिरुवा रोपिएको छ। डिभिजन वन कार्यालयको सहयोगमा जिल्लाका विभिन्न सामुदायिक वनमा १० हजार बढी बिरुवा रोपिएको हो।
जिल्लाका १४ वटा सामुदायिक वन समितिलाई निःशुल्क रूपमा १० हजार बढी बिरुवा उपलब्ध गराइएको डिभिजन वन कार्यालयका प्रमुख दिनेशजङ खत्रीले जानकारी दिए।
उनका अनुसार वितरण गरिएका सबै बिरुवा सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वनमा रोपिसकेका छन्। उनका अनुसार सामुदायिक वनमा धुपी, सल्लो, वीरेन्द्रफूल, कङ्लकी, छत्तिवन, टुनी, बाँसलगायत विभिन्न बिरुवा रोपिएको हो।
खत्रीले दुई हजारभन्दा बढी बिरुवा मुसिकोट नगरपालिका–१ सल्लेस्थित चण्डीदल गण आर्मी ब्यारेकमा रोपिएको बताए। केही बिरुवा बाँफीकोट सबडिभिजन कार्यालय छिनखेत र मुसिकोट सबडिभिजन कार्यालय चाँपामा रहेका जनाउँदै उनले ती बिरुवा पनि सरोकार भएका निकायलाई वितरण गरी रोपिने उल्लेख गरे।
सामुदायिक वनलाई हराभरा बनाउने, वनबाटै आर्थिक अवस्था सुदृढ बनाउने, रोजगारीका अवसर सृजना गर्नेलगायत उद्देश्य राखेर वृक्षरोपणलाई जोड दिइएको डिभिजन वन कार्यालयका प्रमुख खत्रीले जानकारी दिए।

भर्खरै
लोकप्रिय






































































































































































































