विद्यालाई रोक्न ओलीलाई कति सहज?

विद्यालाई रोक्न ओलीलाई कति सहज?
+
-

काठमाडौँ– विधान संशोधन प्रस्तावमाथि छलफल गर्न शुक्रबार र शनिबार (साउन २ र ३ गते) नेकपा एमालेको पोलिटव्यूरो बैठक बस्यो, पार्टी कार्यालय च्यासलमा।

तर बैठकमा विधान संशोधनको भन्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने विषयले बढी चर्चा पायो। त्यसैगरी सार्वजनिक भए विधान संशोधन प्रस्तावको छलफलका विषय पनि।

भण्डारी एमाले राजनीतिमा फर्किने विषयले चर्चा पनि किन नपाउनु, उनले एमालेको पार्टी सदस्यता नवीकरणको घोषणा गरेको महिना दिन पनि पुगेको छैन। हुन त उनले वर्ष दिनअघि नै पार्टी सदस्यता नवीरकण गरिसकेकी थिइन्। त्यस विषय एमाले र उनी स्वयम्‌ले पनि लुकाए।

असार १४ गते मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा देशमा धेरै काम गर्न बाँकी रहेको भन्दै भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको जानकारी गराएकी थिइन्।

त्यसले एमालेमा तरंग ल्याइदिएको छ। एमालेको भावी अध्यक्षका रुपमा उनलाई हेरिन थालिएपछि एमालेको संस्थापनपक्ष तर्सिएको छ। त्यसैले दुई दिन चलेको पोलिटव्यूरो बैठकले उनको पार्टी सदस्यता नवीकरण पेन्डिङ (रोक्नु) मा राखिदिएको छ।

तर भण्डारीलाई रोक्ने गरी र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहज हुने गरी बैठकले विधान संशोधन गर्ने प्रस्ताव भने पारित गरेको छ। बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालपछि अर्को पटक कार्यकारी पदमा बस्न नपाउने प्रवाधान हटाउने प्रस्ताव भने स्वीकृत गरेको हो।

ओली अर्को पटक (११औँ महाधिवेशनबाट) पनि पार्टी अध्यक्ष बन्ने आकांक्षामा छन्। उनलाई चुनौती दिने गरी भण्डारीले सार्वजनिक रुपमै आफू अध्यक्ष बन्न तयारी रहेको बताइसकेकी छन्।

ओलीलाई चुनौती दिने गरी सार्वजनिक रुपमै भण्डारीले अभिव्यक्ति दिन थालेपछि एमालेको संस्थापनपक्ष (ओली पक्ष) तर्सिएको छ। पूर्वराष्ट्रपति राजनीतिमा फर्किन मिल्ने कि नमिल्ने भन्नेमा एमाले नेताहरू पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किने विषय स्वागतयोग्य कुरा भएको बताइसकेका छन्।

ओली निकट एमाले महासचिव शंकर पोखरेल नै गएको पुसमा जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्किने विषय स्वागतयोग्य कुरा रहेको बताएका थिए। तर अहिले उनी नै भण्डारीको पार्टी सदस्यता नवीकरणको विषयलाई लिएर अध्यक्ष ओलीको धारमा पुगेका छन्।

ओलीले पूर्वराष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किने विषय गम्भीर विषय भएको सार्वजनिक रुपमा भनिसकेका छन् जुन उनको फेरि अध्यक्ष बन्ने आकांक्षासँग जोडिन्छ।

आफ्नो आकांक्षाअनुसार ७० वर्षीय उमेरहद र दुईवर्षे कार्यकाल प्रवाधान हटाएको पोलिटव्यूरो बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण भने रोकेको छ।

विद्या रोक्न ओलीलाई कति सहज?

पोलिटव्यूरो बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण रोकेको सार्वजनिक जानकारी गराए पनि संस्थापनइतर (भण्डारीपक्ष) समूह त्यसलाई मान्न तयार छैन। शनिबार पोलिटव्यूरो बैठकको निर्णय सार्वजनिक प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले हाललाई भण्डारीको सदस्यता रोकिएको बताएका थिए।

भण्डारी समूह भने सदस्यता नवीकरण रोक्ने विषयमा कुनै निर्णय नभएको बताएको छ। ‘सदस्यता नवीकरण भएको विषय महासचिव (शंकर पोखरेल)ले एक वर्ष पहिले नै नवीकरण भएको भनेको विषय हो। होल्ड (रोकिएको) छैन’, पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आइतबार भने।

आइतबार ओली–भण्डारीबीच पार्टी कार्यालय च्यासलमा भएको भेटका क्रममा पोखरेलले सञ्चारकर्मीसँग पार्टी सदस्यताका विषयमा बाहिर कसरी आउँछ त्यो फरक कुरा भएको बताए। उनी ओलीपक्षका रुपमा चिनिदै आएका नेता हुन्। तर पछिल्लो समय भण्डारीको पक्षमा खुलेरै लागिरहेका छन्।

भण्डारीको पक्षमा बरिष्ठ उपाध्यक्ष नै खुलेर लागिरहेको समयमा अब ओलीलाई भण्डारी रोक्न सहज हुने देखिदैन। दुई दिन बसेको पोलिटव्यूरो बैठकमासमेत पोखरेलले ओलीसँग उमेरहद, दुईवर्षे कार्यकाल हटाउन नहुने भन्दै असहमति जनाएका थिए।

सुरुदेखि नै भण्डारीको पक्षमा माहोल बनाइरहेका स्थायी कमिटी सदस्य कर्ण थापाले भण्डारीको सदस्यता नवीकरणको विषयमा अध्यक्ष ओली जानकार रहेको बताए। भण्डारीको सदस्यता रोकिएको विषयमा आइतबार पार्टी कार्यालयमा सञ्चारकर्मीले गरेको प्रश्नमा थापाले भने– ‘सदस्यता नवीकरणको विषयमा अध्यक्ष (केपी शर्मा ओली) जानकारी नहुने भन्ने कुरा होइन। अहिले किन विरोध गर्नुभएको छ भन्ने सबै भनिरहनुपर्दैन।’

एमाले सचिव योगेश भट्टराई पार्टी सदस्यता विषयलाई अझ हल्का रुपमा हेर्छन्। उनी यसलाई प्राविधिक विषय भएको र आवश्यक परेमा तत्काल्यै सदस्यता नवीकरण गर्न सकिने पनि पहिल्यै गरेको भए पनि नगरेको जस्तो बनाउन सकिने पनि बताउँछन्।

‘पार्टी सदस्यता नवीकरण भन्ने प्राविधिक विषय हो। पहिले राजनीतिक विषय टुङ्गिनुपर्छ’, आइतबार सञ्चारकर्मीसँग उनले भनेका थिए। पार्टीले चाहेमा तत्काल्यै भण्डारीको पार्टी सदस्यता नवीकरण हुने पनि उनले बताए।

ओलीसँगको छलफलपछि भण्डारीले आइतबार आफूले पहिल्यै पार्टी सदस्यता नवीकरण गरिसकेको बताएकी थिइन्।

यो पनि पढ्नुहोस्

एमालेमा केपीले रोक्न नसकेको विद्या तरंग

एमालेमा केपीले रोक्न नसकेको विद्या तरंग

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?