
काठमाडौँ – पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले संसदका दुई ठूला दल मिलेर बनेको करिब दुई तिहाई सरकारले एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा उल्लेख्य सुधार गर्न नसकेको दाबी गरेका छन्।
कृषि विकास बैंक कर्मचारी संगठनद्वारा मंगलबार आयोजित कार्यक्रममा पुनले सरकारले अर्थतन्त्र सुधारका लागि काम नगरेका कारण अर्थतन्त्र चलायमान हुन नसकेको बताए ।
आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत अर्थतन्त्रका चुनौती सामना गर्ने गरी नीति कार्यक्रम नल्याइएको उनको भनाइ थियो । बजेट नियमित र परम्परागत ढर्राबाट ल्याइएकाले सरकारले जतिसुकै दाबी गरे पनि अर्थतन्त्रका सबै सूचकमा उल्लेख्य सुधार हुने संकेत नदेखिएको बताए ।
तर, नेपाल राष्ट्रबैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिले भने केशी आशा जगाएको पुनले उल्लेख गरे ।
पुनले बैंक तथा वित्तय संस्थाको कर्जा प्रवाहमा देखिएको समस्या हटाउन सरकार असफल भएको बताए । हरेक महिनाजसो केन्द्रीय बैंकले ५० देखि ६० अर्ब रुपैयाँ बैंकहरुबाट खिच्ने गरेको र लगानी योग्य रकमको मौज्दात ७ खर्ब पुग्नुले बजारको मानोबल उठ्न नसकेको पुनले बताए ।
‘दुई तिहाइको सरकारले आर्थिक क्षेत्रमा आशा जगाउने सकेन । दुई तिहाइको सरकार बन्नु आफैंमा विशिष्ट अवस्था हो । तर, संख्यात्मक रुपमा यति बलियो सरकारले वित्त नीति राम्रो ल्याउन सकेन’, पुनले भने, ‘वित्त नीति नै राम्रो नआएपछि मौद्रिक नीतिले धेरै गर्न सक्दैनथ्यो । तर, गभर्नरले तुलनात्मक रुपमा मौद्रिक नीतिरुपमा राम्रो ल्याउनुभएको छ ।’