काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनको असर नेपालका विभिन्न क्षेत्रहरुमा प्रत्यक्ष देखिएको भन्दै न्यूनीकरणका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको विभिन्न भूभागमा जलवायु परिवर्तनका प्रत्यक्ष असर देखिरहेको बताए। उनले हिमाली क्षेत्रमा हिमताल विष्फोट हुने क्रम बढिरहेको बताए।
रसुवागढीमा हालै भएको घटना जलवायु परिवर्तनका कारण हिमताल विष्फोट हुँदाको परिणाम भएको उल्लेख गरे। संसारभर नै जलवायु परिवर्तनको असर निरन्तर बढिरहेको उनको भनाइ थियो।
उनले भने, ‘हाल नेपालको विभिन्न भूभागमा जलवायु परिवर्तनका प्रत्यक्ष असर देखिरहेका छन्। हिमाली क्षेत्रमा हिमताल विष्फोट भएको छ। रसुवाको रसुवागढीभन्दा माथि हिमताल फुटेर त्यत्रो ठूलो बाढी आएर भयावह अवस्था भयो। धेरै मानिसको ज्यान गएको छ। मेलम्चीमा धेरै बाढी आएको थियो। ठूलो क्षति भएको थियो। हिमताल फुटेर नेपालमा धेरै ठूलो समस्या ल्याएको छ। संसारभर नै जलवायु परिवर्तनको असर बढेको छ।’

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































