
काठमाडौँ – पछिल्ला केही घण्टामा सङ्खुवासभा, सिन्धुपाल्चोक र दोलखाका विभिन्न क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले आगामी घण्टाहरूमा पनि थप वर्षा हुने सम्भावना रहेकाले आकस्मिक बाढी र पहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले बुधबार बिहान ३ बजे जारी गरेको सूचनाअनुसार, सङ्खुवासभाको नुम वर्षा मापन केन्द्रमा भारी वर्षा रेकर्ड गरिएको छ। यसले साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने र भिरालो तथा कमजोर भू-भागमा पहिरो जान सक्ने जोखिम बढाएको छ।
त्यस्तै, बुधबार बिहान ४ बजे जारी गरिएको पछिल्लो सूचनामा सिन्धुपाल्चोकको गुम्थाङ, बाह्रबिसे, दोलखाको जिरी, बुस्टी र सिङ्गटी लगायतका क्षेत्रमा पनि पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी वर्षा भएको उल्लेख छ।
यी क्षेत्रहरूमा पनि आकस्मिक बाढी तथा पहिरोको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
विभागले सम्भावित जोखिमबाट बच्नका लागि सुरक्षित स्थानमा रहन र नदी तथा खोला किनारका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।