काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा गणतन्त्र आए पनि त्यसभित्र ‘झार पलाएको’ टिप्पणी गरेका छन्।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रका वास्तविक ‘फूलहरू’ खोज्नुपर्ने अवस्था आएको बताए।
महासचिव चन्दले कम्युनिष्ट आन्दोलनलाई एकताको आवश्यकता भए पनि त्यसका लागि निश्चित दृष्टिकोणको जरुरी रहेकोमा जोड दिए। उनले हरेक दिन एकताको कुरा गरिए पनि आफैँभित्र ‘उकुसमुकुस’को स्थिति रहेको बताए।
“हामी हरेक समयमा एकताको कुरा गर्छौं तर हामीभित्र उकुसमुकुस छ। हामीलाई चाहिएको एकता नै हो। हामीलाई चाहिएको मोर्चा नै हो। सहकार्य र सहयात्रा नै हो। त्यसको लागि एउटा निश्चित दृष्टिकोण नै हो,” चन्दले भने, “नेपाली समाजको नयाँ व्याख्या जरुरी छ।”
उनले नेपालको राजनीतिमा गणतन्त्र आएपछि ‘दलालहरूका झारपातहरू’ मौलाएको जिकिर गरे।
“गणतन्त्रमा झारपात उम्रिएका छन्। गणतन्त्रका फूलहरू हेर्न झारहरू पल्टाएर हेर्नुपर्ने भयो,” उनले थपे, “नेपालको राजनीतिमा गणतन्त्र आएपछि दलालहरूका झारपातहरू मौलाएका छन्। कुन फूल र कुन झारपात नेपाली जनता अल्मलमा परेका छन्। बर्खामा च्याउ उम्रिएका जस्ता झारपात उम्रिएका जस्ता राजनीतिक दलहरू छन्। गणतन्त्रमा बर्खामा उम्रिएका झारपातहरू छन्। गणतन्त्र त आयो तर झारपातले ढाक्यो।”
महासचिव चन्दले निश्चित दृष्टिकोणसहित अघि बढेर कम्युनिष्ट एकतालाई अझ बलियो बनाउनुपर्ने बताए।

भर्खरै
लोकप्रिय






































































































































































































