
काठमाडौं- लोकरक ब्यान्ड नेपथ्यले आगामी महिना युरोपको शृङ्खलाबद्ध साङ्गीतिक यात्रा गर्ने भएको छ। बेलायत, डेनमार्क, माल्टा, पोर्चुगल र बेल्जियममा नेपथ्यले कन्सर्ट गर्न लागेको हो।
ब्यान्डले शृङ्खलाबद्ध यात्राको पहिलो प्रस्तुति अगस्ट ९ मा लन्डनको वेम्बलीमा दिनेछ। त्यसपछि अगस्ट २३, शनिबार डेनमार्कको राजधानी कोपेनहेगनमा ब्यान्ड प्रस्तुत हुनेछ। त्यहाँस्थित ‘पुलेन हल’मा ब्यान्डको कन्सर्ट तय भएको छ।
औधोगिकयुगको वैभव सम्झाउने पुरानो गोदामलाई व्यवस्थित हलमा परिणत गरिएको यो हल हिजोआज नियमित रक कन्सर्ट हुने थलो बनेको छ। यसै हलको वेबसाइटमा नेपथ्य कन्सर्टको विवरणसमेत देख्न सकिन्छ। कोपेनहेगन सहरमा नेपथ्यको दोस्रो प्रस्तुति हुन लागेको हो। यसअघि सन् २०१६मा ब्यान्डले कोपेनहेगनमा लोकरक सुनाएको थियो।
डेनमार्कपछि ब्यान्ड माल्टाको आटार्ड सहरमा उपस्थित हुनेछ। मुलुकको उत्तरी भेगमा पर्ने यस सहरको ‘माल्टा फेयर एन्ड कन्भेन्सन्स सेन्टर हल’मा अगस्ट २७, बुधबार नेपथ्यका गीतहरु गुन्जिनेछन्।
त्यसपछि ब्यान्ड पोर्चुगलतर्फ प्रस्थान गर्नेछ। त्यहाँको राजधानी लिस्बनस्थित ‘लिस्बोआ आओ भिभो’मा अगस्ट ३१, आइतबार नेपथ्य प्रस्तुत हुनेछ।
युरोप यात्राको अन्तिम प्रस्तुति भने बेल्जियमको एन्थ्रोपेन सहरमा हुनेछ। त्यहाँस्थित ‘एइडी स्टुडियोजकोस्टुडियो सेभेन’मा सेप्टेम्बर३ मा नेपथ्यको प्रस्तुति रहनेछ। एन्थ्रोपेन सहरमा पनि नेपथ्यदोस्रो पटक प्रस्तुत हुनलागेको हो। यसअघि सन् २००५ मा ब्यान्डले त्यहाँस्थित आरेनबर्ग थिएटरमा आफूलाई उभ्याएको थियो।
नेपथ्यले अघिल्लोपटकसन् २०१६ मा युरोप यात्रा गर्दै जर्मनीको हेम्बर्ग रडेनमार्कको कोपेन्हेगनमा प्रस्तुति दिएको थियो। बेलायतको लन्डनलाई छाडेर बाँकी युरोपेली मुलुकमा नेपाली थुप्रै सानाठूला सहरमा छरिएर रहेका कारण ठूलो दर्शक उपस्थिति अपेक्षा गर्न कठिन थियो। पछिल्लो समय यी चार मुलुकमा भने नेपालीको सङ्ख्या उल्लेख्य मात्रामा थपिएको छ। त्यसमा पनि खास गरेर माल्टा, पोर्चुगल र बेल्जियममा अर्थोपार्जनका हिसाबले पुगेका नेपालीको सङ्ख्या बढी छ। दर्शक सङ्ख्याको सकारात्मक सङ्केत देखेर नेपथ्यले चार सहरमा शृङ्खलाबद्ध यात्रा गर्न लागेको हो। यी चारवटै स्थानमा दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको र केही शोका टिकट सकिन लागेको स्थानीय आयोजकले जानकारी दिएका छन्।
नेपथ्यले हालसम्म आफूलाई प्रभावकारी रुपमा प्रस्तुत गर्दैआएका विश्वका अग्रणी सहरहरु विशेषगरी अध्ययनका लागि उल्लेख्य सङ्ख्यामा नेपाली विद्यार्थी गएका ठाउँ हुन्। यसपटक युरोपको शृङ्खलाबद्ध यात्राले भने नेपथ्यको दर्शकघेरामा देखापर्दैगएको विविधतालाई पनि सङ्केत गरेको छ। यद्यपि यी सहरमा छिटफुट र कोपेनहेगनमा उल्लेख्य सङ्ख्यामा विद्यार्थीको उपस्थितिछ।
‘नेपालका सानो बस्तीदेखि लिएर विश्वका अग्रणी सहरसम्म नेपथ्यको प्रस्तुततिले श्रोता दर्शकको मायामा एकरुपता पाउन थालेको छ,’ ब्यान्डको व्यवस्थापन सम्हाल्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपथ्यको कार्यक्रममा अपेक्षा गरिने व्यवस्थापकीय र प्राविधिक उत्कृष्टतालाई निरन्तरता दिँदै युरोपमा पनि सबै कार्यक्रम स्तरीय हलमा स्तरीय प्रविधिक संयोजनसहित प्रस्तुत गरिनेछ।’
यस यात्राका लागि व्यवस्थापक, प्राविधिक र कलाकारसमेत गरेर १४ सदस्यीय नेपथ्य टोली युरोप प्रस्थान गर्दैछ। मञ्चमा भने मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन्।
युरोपका सबैजसो कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाइएको छ। त्यसकालागि नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फतआफ्नो सिट सुरक्षित गर्न सकिनेछ।