
यही शुक्रबार र शनिबार नेपालयको ‘आर’सालामा सङ्गीतकार न्ह्यू बज्राचार्यको पलेँटी सम्पन्न भएको छ। झण्डै २ घण्टासम्म चलेको पलेँटीमा बज्राचार्यले सङ्गीत दिएका दर्जनभन्दा बढी गीत प्रस्तुत गरिएको थियो।
गीटार बजाउँदै स्टेजमा बसेका न्ह्यूकै गायनबाट कार्यक्रमको थालनी भएको थियो। उनले आफ्नो साङ्गीतिक यात्राका क्रममा भोगेका संस्मरण सुनाउँदै गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको पहिले गीत सुनाउदा उनले केहीवर्ष पहिले दिवंगत भएकी स्वरशिल्पी लासमित राईको सम्झना गरेका थिए। लासमितको स्वरमा रेकर्ड भएको ‘नआऊ सपनाभरि’ सङ्गीतकारको आवाजमा सुन्दा दर्शकहरूमा भिन्दै रौनकता फैलिएको थियो।
त्यसपछि उनले गीतकार दिनेश अधिकारीसँगको पहिलो भेटको सम्झना सुनाउदै ‘अघिअघि जिन्दगी’ सुनाएका थिए। तेस्रो प्रस्तुतिमा गीतकार विप्लब प्रतीकको काव्यात्मक गीत ‘एउटी सानी परी’ रहेको थियो। यसपालीको कार्यक्रमलाई कवि विप्लबले नै सञ्चालन गरेका थिए। सोलो गीटार बजाउँदै प्रस्तुत भएका न्ह्यूले जब रमण घिमिरेको शब्द ‘आधीबाटो हिंडेपछि’ सम्पन्न गरे त्यसपछि कार्यक्रमले दोस्रो चरण प्रवेश गर्यो।
कार्यक्रमको दोस्रो चरणमा बानिका प्रधानको स्वर गुञ्जेको थियो। उनले अरुणा लामाको स्वरमा रेकर्ड भएको ‘यो मन त तलाउ हो’लाई कुशलता पूर्वक प्रस्तुत गरेकी थिइन्। राजेन्द्र थापाको यस गीतपछि बानिकाले बिभिन्न चरणमा ‘तिमी बाहेकु, ‘खाटा बसेछु, ‘ए ऐना,’ र ‘छाएछ बसन्त’ बोलका गीतहरू प्रस्तुत गेरकी थिइन् । न्ह्यूका धुनमा दुर्गालाल श्रेष्ठ, बसन्त चौधरी, मञ्जु लामा, भूषण खरेल, गोपाल प्याकुरेल, मदन कृष्ण श्रेष्ठ, क्षेत्रप्रताप अधीकारी र सुरेश स्थापितका शब्दहरू समेटिएका थिए। कार्यक्रममा न्ह्यू आफैँले लेखेका गीतहरू पनि प्रस्तुत भएका थिए।
बानिका प्रधानको गायनलाई सङ्गीतकार न्ह्यू बज्राचार्यका साथै पलेँटीका दर्शकहरूले मुग्ध कण्ठले प्रसंसा गरेका थिए ।
कार्यक्रमको अर्को चरणमा न्ह्यूले पूर्ण वाद्यवादनका साथ केही गीतहरू सुनाएका थिए । जसमा ‘मेरो प्यारो’, ‘पागल’, ‘अरबौं मान्छेहरूमाु, ‘जय होस्’ बोलका गीतहरू रहेका थिए। आनी छोइङको स्वरमा लोकप्रिय बनेको ‘फूलको आँखामा’ गीतलाई न्ह्यूले नेपाली र नेवारी भाषामा मिस्रित गरेर गाएका थिए ।
यसपालीको पलेँटीमा वाद्यवादनतर्फ कीबोर्डमा दिनेश रेग्मी, तबलामा सम्भु बानियाँ, बाँसुरीमा मिलन घिमिरे, पर्कसनमा पारशमणि सुबेदी, गिटारमा लुमन स्थापित र बेस गिटारमा सुदीप खत्रीको साथ रहेको थियो ।
शुक्रबारको पलेँटी हेरेर बाहिरिँदै गरेका गायक शेषनारायणको प्रतिक्रिया सुनिन्थ्यो, ‘न्ह्यूका गीतहरूलाई पलेँटीमा कसरी प्याकेजिङ गरिन्छ होला भन्ने जिज्ञासा थियोस त्यो मेटियो मात्र होइनस गज्जबको प्रस्तुति भयो। दामी कार्यक्रम।’
‘आजको साँझ अविष्मरणी साँझ रह्यो। न्ह्यूको सङ्गीत त सुन्दर छँदैछस उसको सेन्स अफ ह्युमरले कार्यक्रमलाई झन् रोचक बनायो।’ यसपालीको पलेँटी सञ्चालन गरिरहेका कवि तथा गीतकार विप्लब प्रतीकको प्रतिक्रिया थियो।
आगामी अगष्ट महिनाको पलेँटीमा सङ्गीतकार तथा गायक रामकृष्ण दुवाललाई निम्त्याइएको जानकारी पलेँटी संयोजक आभासले गराएका थिए। रामकृष्ण दुवाल लामो समयदेखि नेपाल भाषा र नेपाली भाषाका गीत, सङ्गीतमा क्रियाशील कलाकार हुन्।