
काठमाडौँ- राम्रो शैक्षिक योग्यता, पर्याप्त जागिरको अवसर। आफूसँग अनेकौं विकल्प हुँदाहुँदै पनि चितवनका रैथाने रिजाल दाजुभाइ जुटे, आफ्नै उद्योग खोल्नलाई। अर्थात २०७८ सालमा दाजुभाइको सपनाका रुपमा स्थापित भयो ‘श्रीराज एग्रो फुड इन्डस्ट्रिज प्राइभेट लिमिटेड।’ दाजुभाइको संघर्ष र सफलतासँग गहिरो लगाव राख्ने यो उद्योगलेले आफ्नो काम र व्यवसायको विस्तार भने ‘रिजाल एग्रो’ मार्फत अगाडि बढायो। करिब पाँच वर्ष पार गर्न लाग्दा यसले आफ्नो व्यवसायिक सपनाको विस्तार मात्र गरेको छैन, आत्मानिर्भर नेपालको सपनामा इँट्टा थप्ने काम पनि गरिरहेको छ।
संस्थापक रिजाल दाजुभाइ अर्थात स्वरुप रिजाल एमबीए गरेर बसेका थिए भने भाइ सौरभ रिजाल भारतमा कम्युटर साइन्समा इन्जिनियरिङ सिध्याएर नेपाल फर्किएका थिए। सुरुवाती दिनबारे सौरभ भन्छन्, ‘त्यसपछि हामीसँग आफ्नै क्षेत्रमा काम गर्ने, राम्रो जागिर खाने, विदेश जाने या आफ्नै केही गर्ने भन्ने अप्सनहरु थिए।’ अन्य अप्सन सजिलो भएपनि आफै केही गर्ने कुरा भने देख्दा सहज देखिए पनि कार्यान्वयनमा चुनौती हुन सक्थ्यो। तर दाजुभाइले त्यही अन्तिम विकल्प अर्थात आफैँ केही गर्न कम्मर कसे।
अचारदेखि सससम्म फैलिंदै छ व्यवसाय
नेपाली भान्सामा निर्विकल्प मानिने अचार अहिले बजारमा विभिन्न स्वरुपमा पाइने गर्छ। यहि अचारलाई ब्यबसायिक बनाएर त्यसको स्वादलाइ ब्रान्ड सँग जोड्ने काम यिनै दाजुभाइले गरिरहेका छन्। अचारको ब्यबसायिकता फैलिंदै अहिले सस उत्पादनसम्म पुगिसकेको छ।
खास उनीहरुलाई अचारमा व्यवसायिक्ता देखाउने सपना भने आमाको हातबाट बनेका मिठो अचारका परिकारले नै दिएको हो। आमाको मिहिनेत र लगावमा उनीहरुले ब्यबसायिक्ता र आफ्नो भविष्य देखे।
‘घरमा आमाले विभिन्न खालको अचारहरु बनाउनुहुन्थ्यो, हामीलाई त्यस स्वाद निकै नै बेजोड र स्वादिलो लाग्थ्यो यस अचार साथसाथै आमा (सन्जु रिजाल) को यो बेजोड अनुभवलाइ प्रयोग गर्दै अचारको उत्पादन सुरु गर्ने सोच बन्यो र आमालाइ पनि संलग्न गराउँदै उद्योग सुरु गरियो। उद्योगमा कच्चा पदार्थको व्यवस्थापन गरेर बजारमा निस्किन एक वर्ष लाग्यो’, रिजाल भन्छन्।
उनले आफ्ना विशेषताहरुबारे भने, ‘अरु भन्दा भिन्नता भनेको हामी जुन ठाउँको जुन कुरा बिशेष छ त्येही बाट त्यस कुराको खरिद अर्थात सिधै किसानबाट खरिद गर्छौं। आँप लिनुपर्यो भने तराईको लहान, कञ्चनपुर, मिर्चैया, अकबरे लिनुपर्यो भने पूर्वी पहाडको इलाम, राँके, फिदिम, आठराई, भोजपुर, लप्सी लिनुपर्यो भने पनौती, चरिकोट, लसुन रोल्पा लगायत ठाउँमा पुगेर किसानहरुसँग खरिद गरेर लिएर आउँछौं।’
अहिले बजारमा करिब १४ विभिन्न परिकारका अचारहरु (शुद्ध शाकाहारी मात्र) उपलब्ध गराउने गरेको उनले बताए। ‘काम गर्दै जाँदा बजारमा घरेलु हिसाबले काम गरिरहनु भएको निकै भेटियो, देखियो, राष्ट्रिय स्तरमा गर्नु हुने थोरै रहनु भएको महसुस भयो, नेपालमै उत्पादित बस्तुहरुको नेपालमै उत्पादन गरेर नेपाली स्वाद दिएर नेपालमै त्यसको बजार देख्दा खुसी लागेको छ,’ रिजालले भने।
नेपाली समुदाय साथसाथै अन्य मुलुकमा पनि अचार पारखीहरुको लागि रिजाल एग्रोले आफ्नो बजार विस्तार गर्दै छ। अब विभिन्न उत्पादनहरु विदेश निर्यात गर्ने उद्देश्यले लगानी विस्तार गरेर अघि बढेको रिजालले बताए। ‘हाम्रो उत्पादन खाFदा नेपालीहरुलाई घरको याद दिलाउनेमा हामी विश्वस्त छौँ,’ उनले भने।
टमाटरले भाउ नपाएको देखेपछि सस उद्योग
अचारलाई व्यवसायिक बनाएसँगै रिजाल दाजुभाइले कृषिका अन्य क्षेत्रहरुमा पनि अवसरहरु देख्न थाले। ‘किसानसँग जोडिएर काम गर्दै जाँदा नेपालमा टमाटरले बजार भाउ नपाएको, साथसाथै त्यसको भ्यालु एड गर्नुको सट्टा चोकचोकमा ल्याई ती उत्पादित बस्तुहरु फ्यालेको देख्दा मन निकै चसक्क हुन्थ्यो।’
त्यसपछि उनीहरुलाइ लाग्यो, यसमा केही गर्नु पर्छ अनि उनीहरुले सुरु गरे टमाटरको बजारको रिसर्च र यसलाइ पुर्याउन कस्तो र के के बनाउन सकिन्छ भन्ने सर्भे। बजार र अनुसन्धान पछि टमाटरको व्यवस्थापनको दुई विकल्प उनीहरु सामु आए- सुकाएर प्याकिङ गरेर बजार पठाउनु पर्यो कि सस बनाएर। तर उनीहरूलाई दोस्रो विकल्प उत्तम लाग्यो।
अनि चितवनमा किसानहरुसँग सम्झौता गरी लगानी गरेर टमाटर खरिद गर्ने सम्मको कामहरु गर्न थाले। सौरभ भन्छन्, ‘त्यसपछि हामीले रिजाल एग्रो ब्राण्डमा टोम्याटो ससहरु उत्पादनमा ल्याउन थाल्यौं। बजारमा कस्ता र कस्तो कम्पनीसँग प्रतिस्पर्धा गर्नु पर्छ, सुरुवातमा कति लागत लाग्छ, बनाइसकेपछि उपभोक्ताहरूलाई के कुराले आफ्नो उत्पादित बस्तुतर्फ आकर्षित गराउन सकिन्छ भनेर दिन रात खोजी गर्न थाल्यौं,’ उनी भन्छन्, ‘अहिले आधुनिक उपकरणहरु प्रयोग गरी उत्पादनहरु उत्पादित गर्न थालेका छौं जसले उत्पादनको गुणस्तरीयता र ड्युरेबिलिटीमा महत्वपूर्ण योगदान दिएको छ।’ उनीहरुले आफूले उत्पादन गरेका सबै उत्पादनहरू आधुनिक प्रयोगशाला परीक्षणबाट पास गरेर मात्रै बजारमा पठाउने गरेको बताए।
महिलालाई रोजगारीले बढाएको छ आत्माविश्वास
रिजाल एग्रोले किसानसँग पँहुच र उनीहरुको उत्पादनको बजारलाइ सुनिश्चितता मात्र दिएको छैन, उनीहरुले आफ्नो कम्पनीमा ७०% भन्दा बढी उत्पादनहरुका लागि महिला कर्मचारीलाई जागिर दिएका छन्। रिजाल भन्छन्, ‘हामीले घरेलु सीपलाई व्यवसायिक रूप दिँदै गर्दा स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउन र उनीहरुलाइ आत्माविश्वास सहित रकम आर्जन गर्नका लागि मद्दत गरिरहेका छौं।’
उनले उत्पादको बजारबारे भने, ‘हाम्रा उत्पादनहरु उपभोक्तासम्म पुग्ने सहज माध्यमहरुमा पुर्याउने गरेका छौँ जुन अहिले ठूला चेन डिपार्टमेन्टहरू रहेका छन्। मुख्य रुपमा भाटभटेनी तथा अन्य चेन डिपार्टमेन्ट मुख्य छन्।’ त्यस्तै प्रमुख रिटेल च्यानलहरू र अनलाइनहरु मार्फत पठाउने गरिएको रिजाल बताउँछन्।
साथै झापा, इलाम, मोरङ, दोलखा, जनकपुर, सिरहा, चितवन, कास्की, रुपन्देही, डडेलधुरा, सुर्खेत, काठमाण्डौ लगायत देशका अधिकांश ठाउमा डिस्ट्रिब्युसन नेटवर्क विस्तार गरेर बजारीकरण गरिरहेको रिजालको भनाइ छ। बजार बिस्तार र निरन्तरताको लागि अझै निकै काम गर्नु पर्ने र यसको सर्वाधिक ठूलो चुनौती रहेको उनको अनुभव छ।
आउँदो दिनहरुमा सम्भव भएसम्म ‘नो योर फार्मर’ भन्ने अवधारणामा काम गर्ने सोच रहेको उनी बताउँछन्। त्यो भनेको किसानबाटको उत्पादित उत्पादनहरु सजिलै पहिचान गर्न सकिने र किसानहरुको आफ्नो उत्पादनलाई सहजै उपभोक्ताकामा पुर्याउन प्रोत्साहन हुने मौलिक सोच भएको रिजालको भनाइ छ।
अचार भारत निर्यात गर्न सके महत्व बढ्न सक्छ
त्यसो त नेपालमा नेपाली अचारका बारेमा सबै जानकार छन्। तर, भारतमा पिरो रुचाउनेको संख्या ठूलो भएपनि नेपालमा उत्पादित अकबरे खुर्सानीलाई भारतमा विस्तार गर्न नसकिरहेको उनी स्विकार्छन्। यस्तोमा अब भारतमा नेपालीले गर्व गर्न सक्ने अकबरे खुर्सानीको बजारीकरण र उत्पादित अचारहरु भारतमा निर्यात गराउने सोचलाई मूर्त रुप दिन कम्मर कसेर लागेका छन् रिजाल।
यसअघि रिजाल ब्रान्डले नेपालमा धेरै उत्पादन गर्दै आएको थियो। नमकिन, भुजिया, चिप्स लगायत अब रिजालको यो इतिहासलाइ ‘रिजाल एग्रो’ले फरक पहिचान स्थापित गर्ने प्रयास गरेको छ।
बुवाहरुको पालामा स्थापित रिजाल ब्रान्ड आज देश साथसाथै अन्तराष्ट्रिय स्तरमा फरक पहिचानसहित छोरा पुस्ताले उचाइमा पुर्याउँदै गर्दा स्वभाविक रुपमा चुनौती र अवसर दुबै छन्। अब किसानसँगको सिंधा पँहुचमा नेपाली परिकारहरुलाई स्वास्थ्य मैत्री बनाएर बजारीकरण गर्दै रैथाने बाली (कोदो, फापर, मकै, जौ, कागुनो) लाइ प्रशोधन गरेर बढ्दो स्वास्थ्य चेतनामा सहयोग पुर्याउने उत्पादन र बजारीकरणले यो उद्योगको आगामी दिन निर्धारण गर्ने पक्का छ।
त्यसोत किसानसँगको सोझो पँहुच मुस्किल छ किनकि किसानसँग बिलदेखि लिएर ठूलो परिमाणको उत्पादन नहुँदा कलेक्सन सेन्टरहरु नै निर्णायक हुँदो रहेछन्। तर ठूला कृषि फर्महरु जसले व्यवसायिक रुपमा बिल तथा आवश्यक कागजात समेत उपलब्ध गराउन सक्छन्, तिनीहरुसँगको पँहुचले ‘रिजाल एग्रो’ लाइ फरक पहिचान र गतिका साथ अघि बढाउन विश्वास राख्छन् रिजाल।