
भारतीय चलचित्र क्षेत्रका महान अभिनेता, निर्देशक तथा निर्माताहरू अमोल पालेकर, चर्चित पटकथा लेखिका सन्ध्या गोखले, वरिष्ठ गायिका तथा अभिनेत्री इला अरुण, चर्चित चलचित्र तथा संगीत विज्ञ यतिन्द्र मिश्र, तथा जोशिलो युट्युबरदेखि अभिनेत्री बनेकी प्राजक्ता कोली आगामी सेप्टेम्बर १३ र १४ मा काठमाडौंमा आयोजना हुने ४औं काठमाडौं कालिङ्ग साहित्य महोत्सवमा सहभागी हुने भएका छन्। यसबारे कालिङ्ग साहित्य महोत्सवका संस्थापक तथा निर्देशक रश्मि रञ्जन परिडाले जानकारी दिएका हुन्।
महान अभिनेता तथा निर्देशक अमोल पालेकर र पटकथा लेखिका सन्ध्या गोखले ‘Viewfinder: A Memoir’ पुस्तकको सन्दर्भमा एक विशेष सत्रमा सहभागी हुनेछन्। अमोल पालेकरको यो आत्मकथा पुस्तकले उनको व्यक्तिगत र सिर्जनात्मक यात्राको गहिरो तथा इमान्दार चित्रण गर्छ। पालेकरको कला जीवनको अनुभव मात्र नभई यो पुस्तक भारतीय चलचित्रको इतिहाससमेत अभिलेख गर्ने दस्तावेज हो।
वरिष्ठ गायिका तथा अभिनेत्री इला अरुण Penguin Random House बाट प्रकाशित आफ्नो आत्मकथामाथि केन्द्रित एक संवाद सत्रमा सहभागी हुनेछिन्।
युट्युबरबाट अभिनेत्री बनेकी प्राजक्ता कोली पनि Harper Collinsबाट प्रकाशित आफ्नो पुस्तकमाथिको संवाद सत्रमा सहभागी हुनेछिन्। MostlySane नामले परिचित कोली हालै TIME पत्रिकाको TIME100 Creators List 2025 मा समावेश हुने पहिलो र एकमात्र भारतीय सिर्जनाकर्मी बनेकी छन्।
चलचित्र तथा संगीतका विज्ञ यतिन्द्र मिश्र पनि महोत्सवमा वक्ताको रूपमा सहभागी हुनेछन्। उनले गिरिजा, देवप्रिय, सुर की बरादरी, अख्तरी, शहरनामा फैजाबाद लगायत चर्चित कृतिहरू लेखेका छन्। उनको लतास् सुर-गाथा पुस्तकले ६४औं राष्ट्रिय चलचित्र पुरस्कारसहित MAMI पुरस्कार जितेको थियो।
कालिङ्ग साहित्य महोत्सव (KLF) भारतबाट सुरु भएको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय साहित्य महोत्सव हो। २०२२ देखि काठमाडौं संस्करण पनि नियमित रूपमा आयोजना हुँदै आएको छ। ४औं काठमाडौं कालिङ्ग साहित्य महोत्सव आगामी सेप्टेम्बर १३ र १४, २०२४ मा काठमाडौंको होटल याक एन्ड यतिमा सम्पन्न हुनेछ। नेपालबाट जीवन ज्योति डिजिटल केयर र भारतको KLF को सहकार्यमा यो संस्करण आयोजना गरिँदैछ। महोत्सवले भगवान शिव र गौतम बुद्धको भावना, नेपाल-भारतबीचको सांस्कृतिक, धार्मिक र साहित्यिक सम्बन्धको उत्सव स्वरूप आयोजना हुनेछ।
नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंकालगायत ३०० भन्दा बढी लेखकहरू महोत्सवमा सहभागी हुनेछन्।
KLF निर्देशक रश्मि रञ्जन परिडाका अनुसार, ‘४औं काठमाडौं कालिङ्ग साहित्य महोत्सव साहित्य, संगीत, नृत्य, कविता र अन्य कला विधाहरूको उत्सव हुनेछ। यो साहित्य, संगीत, नृत्य र कलालाई प्रेम गर्नेहरूको लागि जीवनभर सम्झनलायक अनुभव हुनेछ।’
काठमाडौं KLF निर्देशक विकास भूषालले जानकारी गराए अनुसार महोत्सवको केन्द्रीय विषयवस्तु ‘सीमापारिस् परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ हुनेछ।
उनले भने, ‘नेपालको योगदान वैश्विक सभ्यतामा महत्वपूर्ण तथा विविधतायुक्त छ, जुन यहाँको सांस्कृतिक सम्पदा, प्राकृतिक स्रोत र रणनीतिक अवस्थासँग सम्बन्धित छ।’
दक्षिण एशिया कथा परम्परा, मौखिक साहित्य र लेखनमार्फत समृद्ध साहित्यिक क्षेत्र हो। महाभारत, रामायणदेखि लिएर आधुनिक प्रवासी लेखकहरूको रचनासम्म दक्षिण एसियाली साहित्यले सामाजिक-राजनीतिक परिवर्तनहरूसँगै आफूलाई समयानुकूल ढाल्दै आएको छ।
२१औं शताब्दीमा, दक्षिण एसियाली स्वरहरू सामाजिक संलग्नता, जलवायु परिवर्तन, समावेशिता, आध्यात्मिकता, र पहिचान जस्ता विषयहरूमा सशक्त हस्तक्षेप गर्दै आएका छन्। ‘सीमापारिस् परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ भन्ने विषयवस्तु अन्तरगत यो महोत्सवमा लेखक, कवि, बौद्धिक र चिन्तकहरू विश्वव्यापी छलफलमा योगदान दिनेछन्।