देशसञ्चार चौतारी: भाग-१०७

अमर न्यौपाने किन लेख्छन्?

+
-

लेखक अमर न्यौपाने अचेल नेपाल प्रज्ञा प्रतिष्ठानमा भेटिने गर्छन्। साहित्य लेखेर थुप्रै पाठक कमाएका अमर अहिले प्राज्ञ भएर गाउँ-गाउँको लेखक र साहित्यलाई केन्द्रसँग जोड्ने कोसिस गरिरहेका छन्।

सरलतामा पनि मिठास पस्किने साहित्यकार लेखक अमरको ‘पानीको घाम,’ ‘सेतो धरती,’ ‘करोडौँ कस्तुरी’ र ‘गुलाबी उमेर’ रुचाइएका कृति हुन्। उनले देशसञ्चार चौतारीमा आफ्ना कुरा सुनाएका छन्।

‘पानीको घाम’ले २०६६ को पद्यश्री पुरस्कार र ‘सेतो धरती’बाट २०६८ सालको मदन पुरस्कार जितेको अमर मृदुभाषी लेखक हुन्। जीवन र जगतका बारेमा दर्शनलाई जोडेर कुरा गर्न रुचि राख्छन् उनी।

जीवनमा साहित्यकार नबनेको भए अमर के हुन्थे होलान्? हामी सोच्न सक्छौं, चित्रकार या शिक्षक तर उनी आफूलाई अझै केही बन्न नसकेको बताउँछन् । भन्छन्, ‘अझै पनि केही बन्न सकेको छैन । अहिले पनि छरिएका कुराहरु टिपेर जोडेको जस्तो मात्रै लाग्छ।’

कुनै समय फाइन आर्टका कलाकार, शिक्षण पेशा हुँदै स्वतन्त्र लेखनमा स्थापित अमरलाई जीवनको खास महत्त्व भए पनि क्षणभंगुर लाग्छ। ‘जीवन क्षणभंगुर छ। मानिस रहँदैनन् तर मानिसका कथा रहनुपर्छ । त्यही भएर म लेख्छु,’ उनले भने, ‘रामको सीताको कथा बाल्मिकीले नलेखेको भए आज हामीले थाहै पाउँथेनन्। हामी नरहे पनि हाम्रा कथा रहनुपर्छ भन्ने लागेर नै लेख्न थालेको हुँ।’

यात्रा गर्न रुचाउने उनी लेख्नकै लागि कहिले नेपालगञ्जको तातो घाम सहँदै हिँडे त कहिले सुदूर र कर्णालीका अग्ला पहाड र खोँचका बस्तीमा पुगे। कुनै समय कोठा या कार्यालयको चार दिवारमा बसेर लेख्ने संस्कृति भत्काएर उनले मौलिक कथा टिप्न पुगेका थिए। सेतो धरती किताब लेख्दा अमरले महिनौँ चितवनको देवघाट बिताएका थिए। उनले ती आमाहरुको कथा टिपे जो बालखैमा विधुवा भएर घाटको किनार बगिरहेको नदीसँग सोध्थे- के अब जीवन यत्ति हो?

‘सेतो धरती लेख्दा म गेरुवा वस्त्र लगाएर देवघाट बसेको छु। त्यो पनि त जीवन थियो,’ उनले भने।

लेखेरै थुप्रै पाठकको मन जितेका अमरले सेतो धरती र करोडौँ कस्तुरीको रोयल्टीमार्फत आएको रकमले मातातीर्थमा एक रोपनी जग्गा नै किनेका थिए। ‘सेतो धरती आउँदाखेरी पठन कल्चर बाक्लो थियो। लेखक पनि सेलिब्रेटी हुने समय आएको थियो। जब सेतो धरती हस्ताक्षर गर्न मैले त्यो लामो लाइन देखेको थिएँ अनि लाग्यो नेपालमा पनि किताबको बजार छ।’

अहिले किताबको बजार खस्कियो। किताब पढ्नेहरु सामाजिक सञ्जालमा रमाउन थाले। विकसित देशमा किताब मजाले पढे र अहिले इन्टरनेटको पनि मजा लिन पाए। तर हाम्रोमा किताबको रस बस्न लाग्दा लाग्दै इन्टरले विथोलिदियो। तर अमर भन्छन्, ‘इन्टरनेटका कारण पनि पढ्नका लागि अझै सहज र सुलभ भएको छ। विश्व अहिले सबैको पहुँचमा पुगेको छ। त्यसो हुँदा पढ्न खोज्नेलाई अहिले झन धेरै माध्यमहरु छन्।’

लेखक न्यौपाने नेपाली शिक्षा प्रणालीप्रति पनि चिन्तित देखिन्छन्। बच्चाले बिस्तारै नेपाली भाषा बिर्सिन खोजेको बताएँछन् उनी। भन्छन्, ‘आजको बच्चालाई अंग्रेजीमा मात्रै केन्द्रित गरियो। अंग्रेजी मात्रै सबैथोक होइन। आजको बालबालिकाले भाषा बिर्सिनु भनेको समाज, संस्कार र संस्कृति पनि बिर्सिन पुग्नु हो।’

नेपाली साहित्यमा आँसु बेच्ने लेखक भन्छन् अमरलाई। तर, यो आरोपलाई स्वीकार्दैनन्। बरु भन्छन्, ‘करुणा लेखेको हुँ। के मान्छेको जीवनमा करुणा हुँदैन र? हुन्छ नि। करुणाले नै मानिसलाई बाँच्न सिकाउँछ।’

जीवनमा सबैभन्दा बढी आनन्द ‘पानी’ र ‘आकाश’ले बोध गराउने बताउँछन् अमर। टाढाको बस्तु जति निलो देखिन्छ सम्झिनु त्यो गहिरो हुन्छ।

नेपाली साहित्यमा सर्वाधिक विक्री भएको संस्मरणात्मक पुस्तक ‘चिना हराएको मान्छे’ कृतिलाई अमरले नै लेखेको हुन् भन्ने बजारमा हल्ला थियो। तर बजारले हल्ला गरेको कुरा गर्छन् अमर। ‘आफूले भाषा हेरेको तर किताब लेखेको होइन,’ उनले भने।

‘गुलाबी उमेर’ जस्ता उपन्यास लेखेर किशोर मनोविज्ञान उतारेका लेखक अमर किशोर साहित्य पनि लेखिनु पर्छ भने मत सुनाउँछन्।

नेपाली साहित्य पछिल्लो समय बाक्लै लेखिएको छ। र, ती साहित्यमाथि गम्भीर समीक्षा हुन नसकेको बताउँछन् अमर। उनका अनुसार नेपाली साहित्य कति सैद्धान्तिक हुन सकेको छ त?

अमर नेपालको राजनीतिप्रति असन्तुष्ट छन्। सबैकुरा राम्रो हुँदा पनि राजनीतिले राम्रो हुन दिएन भन्छन्, ‘राजनीति भनेको सबै क्षेत्र भन्दा माथि छ जसले बाँकीलाई नियन्त्रण गर्छ। शासक रोगी भयो भने जनता र देश पनि रोगी हुन पुग्दोरहेछ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?