
काठमाडौं- एमजी आईएम ६ ईभी सार्वजनिक भएको छ।
एमजी ब्रान्डको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले बिहीबार उक्त गाडी सार्वजनिक गरेको हो। एमजी आईएम ६ नेपालमा सार्वजनिक भएको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक एसयूभी हो।
लक्जरियस, नवप्रवर्तन र लामो रेन्ज क्षमताले आईएम ६ लाई एमजीको इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी श्रृंखलाको प्रमुख मोडेल बनाएको छ।
पारामाउन्ट मोटर्सका सुनीलबहादुर क्षेत्रीले एमजी आईएम ६ सार्वजनिक गर्न पाउँदा खुसी व्यक्त गरेका थिए। उनले यो गाडीले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्ने पनि बताए। उनले आईएम ६ ले बजारमा सजिलै प्रतिष्पर्धा गर्न सक्ने पनि दाबी गरे।
सार्वजनिक गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। गाडी विभिन्न ६ रङमा उपलब्ध छ।
आईएम ६ मा डिजिटल चेसिस रहेको छ जुन उद्योगकै अग्रणी कम्पोनेन्टहरू प्रयोग गरी बनाइएको हो। आईएम ६ मा ७५ किलोवाट आवरको एलएफपी ब्याट्री राखिएको छ जसले एकपटक चार्ज गर्दा ४५० किलोमिटरसम्मको रेन्ज दिने जनाइएको छ । गाडीमा १७५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसैगरी गाडीमा ४५० एनएम टर्क रहेको छ।
गाडीमा अत्याधुनिक एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम रहेको छ । यसैगरी ३६० डिग्री क्यामेरासमेत जडान गरिएको छ ।
गाडीमा पाँच सिट क्षमता रहेको छ । आईएम ६ मा अत्याधुनिक ब्याट्री सुरक्षा प्रणाली छ, जसले थर्मल समस्याबाट गाडीलाई जोगाउँछ । गाडीमा रेइनी नाइट मोड र अन टच आईएड जस्ता स्मार्ट फिचरहरू रहेका छन्।
यो गाडी अहिले देशभरका सबै अधिकृत एमजी डिलरशिपहरूमा टेस्ट ड्राइभ तथा बुकिङका लागि उपलब्ध छ । गाडी अर्को सातादेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा पनि राखिने छ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी