
बागलुङ – अग्ला पहाडका टाकुरामा पुराना थाङ्ना र नीलो त्रिपालले बेरिएका गोठ। छेउमा पालिएका भोटे कुकुरहरू र वरपर चरिरहेका हजारौँ भेडाका बथान। यो दृश्य बागलुङको ढोरपाटनस्थित टीकाधारा बुकीपाटनको हो। यी बथानसँगै भेटिनुहुन्छ ६४ वर्षीय टेकध्वज घतान, जसले भेडापालनमा ५० वर्षभन्दा बढी समय बिताइसके।
बागलुङको निसीखोला गाउँपालिका–६ का घतान गत जेठको अन्तिम साता करिब २०० भेडा लिएर टीकाधारा पुगेका थिए। उनको दैनिकी बिहान भेडा दुहुने र दिउँसोमा घाँस काट्नमै बित्ने गरेको छ। उनीसँगै रुकुमका सत्यराम विश्वकर्मा र रोल्पाका तीर्थबहादुर घर्तीसहित सात जनाको समूह एउटै गोठमा बस्छन्। उनीहरूको झण्डै पाँच हजार भेडाले टीकाधाराको खर्क ढाकिएको छ।
घतानले पाँच दशकभन्दा बढी समयदेखि भेडापालनमा लागे पनि अहिलेसम्म कुनै पनि सरकारी अनुदान नपाएकोमा गुनासो गरे। “यस्तो जाडो छ, सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउँदा हुँ,” उनले भने, “बेलाबेलामा कर्मचारीहरू आएर नाम टिपेर जान्छन्, तर दिने बेला केही पनि दिँदैनन्।”
उनका अनुसार बाउबाजेले चलाएको यही पेसाबाट अहिले पनि परिवार पालेका छन्। रुकुमपूर्वका सत्यराम विश्वकर्माले पनि गोठ निर्माणका लागि आवश्यक पर्ने त्रिपाल र राति बाल्ने सोलार जस्ता सामग्रीहरू राज्यबाट सहयोग पाए ठूलो टेवा पुग्ने बताए।
तिबेला बुकीपाटनमा आन्तरिक पर्यटकको चहलपहल पनि बढ्दो छ। तर, भेडीगोठालाहरू भने पर्यटकबाट दिक्क भएका छन्। भेडीगोठाला लेकबहादुर विकका अनुसार कतिपय पर्यटकहरू भेडाको बथानमा छिरेर नाच्ने, दौडिने र चिच्याउँदा भेडाहरू डराएर भाग्ने गरेका छन्। “यसरी बथानमा नपस्नु भन्दा उल्टै हामीहरूलाई गाली गर्छन्,” उनले आफ्नो पीडा सुनाए।
धेरै भेडा भएका कारण घतान जस्ता गोठालालाई हिउँदमा बेँसी र बर्खामा लेक उक्लिनुपर्ने बाध्यता छ। बाह्रै महिना एउटै ठाउँमा राखेर घाँस पुर्याउन नसकिने भएकाले यो पेसामा लेकबेसी गर्नु अनिवार्यजस्तै भएको छ। टीकाधारामा बागलुङसँगै रोल्पा, रुकुम, म्याग्दी र डोल्पाबाट आएका गोठालाहरूले भेडीगोठ राखेका छन्। अब असोज लागेपछि मात्रै उनीहरू बेँसी झर्नेछन्।