
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि लागु हुने गरी नयाँ करका दरहरु सार्वजानिक गरेका छन्।
ट्रम्पले यसअघि पटक-पटक पुनर्विचारका लगि समय उपलब्ध गराउँदै आएपनि १ अगस्टदेखि लागु हुने गरी नयाँ करहरु निर्धारण गर्ने र त्यो अघिनै छलफल गरेर टुंगोमा पुग्न विभिन्न देशलाई उनले चेतावनीपूर्ण भाषामा दबाब दिँदै आएका छन्।
अमेरिकाले केही मुलुकहरुमा भारी मात्रामा कर लगाउने आफ्नो निर्णयलाई कायम राख्दा गरीब र अफ्रिकन साना मुलुकहरुमा भने घोषित कर घटाएका छन्। ट्रम्पले छिमेकी राष्ट्र क्यानडाका लागि करको दर ३५ प्रतिशत निर्धारण गरेका छन्।
यसअघि ट्रम्पले अप्रिलमा अमेरिकालाई आर्थिक रुपमा मुक्त गर्न भन्दै उनले ‘लिवरेसन डे’का रुपमा अप्रिल २ लाई घोषणा गर्दै विभिन्न देशमाथि करको घोषणा गरेका थिए। उनले सबै देशहरूमाथि उच्च महसुलको घोषणा गरेपछि, उनको प्रशासनले ‘९० दिनमा ९० सम्झौता’ गर्ने दाबी गर्दै आएको थियो।
संसारभरका देशहरू आफ्ना निर्यातमाथि तीव्र महसुल नलागोस् भनेर तत्काल छलफलमा आउने विश्वास ट्रम्प प्रशासनको थियो। तर उनको यो महत्त्वकांक्षी लक्ष्यमा ठोस प्रगति हुन सकेन्।
झण्डै १२० दिन बितिसक्दा सम्झौताहरूको संख्या जम्मा ८ मा सीमित देखिँदा पुन:उनले आफ्नो घोषणा अनुसार करलाइ कायम राख्ने निर्णय लिएका हुन्।
यद्यपि, ट्रम्पले धेरै लक्ष्यहरू अहिलेसम्म प्राप्त गर्न नसकेपनि उनले सुरू गरेको महसुल युद्धले अहिले विश्व आक्रान्त छ।
विश्वभर गहिरो असर पारिरहेको विश्लेषकहरु बताउँछन्। ट्रम्प प्रशासनको यो पटक-पटकको करको दर हेरफेर घोषणाको धक्का वर्षौंसम्म महसुस हुने सम्भावना रहेको आर्थिक विश्लेषकहरु बताँउछन्।
ट्रम्पले उच्च ट्यारिफ लगाएका देशहरु
सिरिया – ४१% महसुल लगाइएको छ। यो अत्यन्तै उच्च दर हो, विशेषगरी यस्तो देशका लागि जुन १४ वर्ष लामो गृहयुद्धबाट बल्लमात्र उभिन थालेको छ।
लाओस र म्यानमार – दुबै देशमा ४०% महसुल लगाइएको छ। विज्ञहरूले ट्रम्पका नयाँ महसुलहरूले एशियाली अर्थतन्त्रलाई गम्भीर असर पार्ने चेतावनी पहिले नै दिएका थिए।
स्विट्जरल्यान्ड – ३९% महसुल तोकिएको छ। यो एक मात्र यस्तो देश हो जसले अमेरिकासँग ठूलो व्यापार गर्छ र यसरी उच्च महसुल लागेको छ।
इराक र सर्बिया – दुबै देशमा ३५% महसुल लगाइएको छ।
अल्जेरिया, बोस्निया एण्ड हर्जेगोभिना, लिबिया र दक्षिण अफ्रिका – यी चार देशहरूलाई ३०% महसुल लगाइएको छ।
अप्रिल २ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्थिक आपतकाल घोषणा गर्दै सबै देशहरूमा न्यूनतम १०% महसुल लागू गरे। व्यापार घाटा बढी भएका ६० देश वा समूहहरूमा अझ उच्च महसुल तोकिएको थियो। आज रातिको समयसीमा अगाडि केही देशहरूको महसुल दर फेरबदल गरिएको छ।
महसुल घटाइएका देशहरू:
अंगोला: ३२% ⟶ १५%
बंगलादेश: ३७% ⟶ २०%
बोस्निया एण्ड हर्जेगोभिना: ३५% ⟶ ३०%
बोट्स्वाना: ३७% ⟶ १५%
कम्बोडिया: ४९% ⟶ १९%
युरोपेली संघ (इयू): २०% ⟶ १५% (अधिकांश सामानहरूमा)
फकल्याण्ड टापु: ४१% ⟶ १०%
गुयाना: ३८% ⟶ १५%
इन्डोनेशिया: ३२% ⟶ १९%
ईराक: ३९% ⟶ ३५%
इजरायल, जापान, जोर्डन, क्यामरून, चाड, नामिबिया, जाम्बिया, जिम्बाब्वे लगायत धेरै देशहरूमा महसुल १५% मा घटाइएको छ।
भारत: २६% ⟶ २५%
म्यानमार: ४४% ⟶ ४०%
लाओस: ४८% ⟶ ४०%
स्विजरल्याण्ड: ३१% ⟶ ३९% (केहीमा बढाइएको)
केही देशमा महसुल बढाइएको छ:
ब्रुनेई: २४% ⟶ २५%
फिलिपिन्स: १७% ⟶ १९%