
सिमकोट – नाम्खा गाउँपालिका– ६ को लिमीको मानसरोवर कैलाशको दूरदर्शन गर्न सकिने पाँच हजार मिटर अग्लो स्थान लाप्चा क्षेत्रमा खानेपानीको समस्या रहेको छ।
विशेष गरी मानसरोवर कैलाशको दूरदर्शन गर्न सकिने स्थानमा हालसम्म खानेपानीको ब्यवस्था गर्न नसकिएको कारण पर्यटकहरू समस्यामा पर्दै आएका हुन्।
धार्मिक तथा पर्यटकीय स्थल लाप्चामा खानेपानीको ठुलो समस्या रहेको लाप्चा पुगेर मानसरोवर कैलाशको दूरदर्शन गरेर फिर्ता भएका सुर्य रावतले बताए। अन्य संरचना निर्माण कार्य भएको भएपनि खानेपानीजस्तो अति आवश्यक पर्ने कुरामा कसैको ध्यान जान नसक्नु दुःखको कुरा भएको उनकोे भनाइ छ।
हालसम्म जति पनि आन्तरिक तथा बाह्य पर्यटक लाप्चा पुगेर फर्केका छन्, उनीहरूले तुम्लिङबाट बोकेर लगिएको पानीले काम चलाउने गरिएको छ। उनको समूहले लाप्चा पुग्दा पाँच लिटर पानी बोकेर जानुपरेको थियो।
त्यसैगरी लाप्चा पुगेर खानेपानीको समस्या भोगेका मोहन शाहीले त्यस्तो पर्यटक आइरहने स्थानमा खानेपानीको ठूलो समस्या रहेको बताए। जानकारी नभएको कारण उन्ीहरूको समूहले खानेपानी नबोकेको कारण ठूलै समस्या भोग्नुपरेको थियो। पहिले पशुपालकबाहेक अरु कोही पनि नजाने गरेको अवस्थामा सात वर्षयता पर्यटक लाप्चामा मानसरोवर कैलाशको दूरदर्शनका लागि जान थालेका छन्।
वर्षमा एक हजार पाँच सयभन्दा बढी आन्तरिक र बाह्य पर्यटक लाप्चा पुग्ने गरेर र सबैले भोग्ने साझा समस्या भने खानेपानीको हुने गरेको छ। लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले खानेपानीको समस्या भएको स्विकार्दै यसको श्रोतको खोजी भइरहे पनि हालसम्म पत्ता लगाउन नसकिएको बताए।
श्रोत पत्ता लागे खानेपानीका लागि लगानी गर्ने निकाय भेट्टाउन सकिने भन्दै उनले यो वर्ष पानीको श्रोतको खोजीमा लागिपर्ने बताए। यत्रो पर्यटक आउने स्थानमा खानेपानीको ब्यवस्था गर्न नसक्नु लाजमर्दो विषय भएकाले अब आफू पनि स्रोतको खोजीमा लाग्ने प्रतिबद्धता उनले ब्यक्त गरे।
आर्थिक वर्ष ०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकलाई मानसरोवर कैलाशको दूरदर्शन गर्न असहज भएको बेला पर्यटन बोर्डले खानेपानी बाहेकका अन्य संरचना निर्माण गरिसकेको छ। यसमा दृश्यावलोकन गर्न सकिने क्षेत्रमा पर्यटकलाई भित्रैबाट बसेर हेर्न सकिने क्षेत्रमा झ्यालमा सिसा राखिएको हल, शौचालय, फोहोर फाल्ने पाँच वटा डस्टविन, चार वटा फोहोर जलाउने खाल्डो, दुई वटा स्तुपा निर्माण गरिएका छन्। पर्यटकका लागि खानेपानीको समस्या हुने गरेको लाप्चा क्षेत्रमा आन्तरिक पर्यटक।