
हुम्ला– जाजारकोट जिल्लाको नलगाड नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक र कार्यालय सहयोगीले वर्ष दिनदेखि तलब नपाएर समस्यामा परेका छन्। उनीहरूले सङ्घीय सरकारले दिने रकम पाए पनि नगरपालिकाबाट दिइने रकम पाउन सकेका छैनन्।
सरस्वती प्राथमिक विद्यालय नलगाड नगरपालिका–७ का बालविकास शिक्षक ओमप्रसाद शर्माले सङ्घीय सरकारबाट पाउने रकम पाएको तर नगरपालिकाबाट पाइने रकम हालसम्म नपाएको गुनासो गरे। शिक्षक शर्मा जस्तै अन्य कर्मचारीले पनि नगरपालिकाबाट तलब नपाएको गुनासो गरिरहेका छन्। उनीहरूले घरायसी काम छोडेर विद्यालयमा सेवा दिँदै आएको तर नगरपालिकाले कुनै वास्ता नगरेको आरोप लगाएका छन्।
यसैबीच एक हप्ताअघि ती कर्मचारी नगरपालिकामा धाएर नाराबाजीसहित आन्दोलनमा उत्रिएका थिए। आन्दोलनमा सहभागी अधिकांश कर्मचारीले नगरपालिकाले आफूहरूलाई बेवास्ता गर्दै आएको गुनासो गरेका छन्। नलगाड नगरपालिकाका शिक्षा शाखा प्रमुख बलवीर विकले नगरपालिकाभित्रका ११६ जना बालविकास शिक्षक तथा सहयोगी कर्मचारीले तलब नपाएको स्वीकार गरे।
उनका अनुसार कुल १६८ जना शिक्षक र कर्मचारीका लागि करिब ७८ लाख ७९ हजार रुपियाँ भुक्तानी दिन बाँकी छ। प्रमुख विकले गत आर्थिक वर्षमा नगरपालिकामा बजेट अभाव भएका कारण भुक्तानी दिन समस्या परेको बताए। साथै आउँदो असोजको पहिलो सातासम्म बाँकी रकम भुक्तानी गरिने उनले बताए।