
मुगु – हिमाली जिल्ला मुगुमा बाँदरले कृषककाे बगैँचामा पसेर स्याउ खान थालेपछि कृषक हैरान र चिन्तित भएका छन्।
पाकेर बजार पुर्याउने अवस्थामा पुगेका बगैचाका स्याउ राती राति बाँदरले खाएर सिध्याइदिन थालेपछि स्याउ कृषक चिन्तित भएका हुन्।
छायानाथ रारा नगरपालिका– ५ मा रहेका दुलाल्या,मैतु र जुक्यामुल भन्ने स्थानमा रहेका स्याउ बगैचाहरुमा बाँदरहरु पसेर सकेको खाने र नसकेको झारेर सखाप पार्ने गरेको स्थानीय स्याउ कृषक हरि बहादुर रोकायाले जानकारी दिए।
यी स्थान रारा राष्ट्रिय निकुन्जसङ्ग जोडिएकाले राती बाँदरहरु निकुन्जबाट बगैचामा पस्ने विहानै फर्कने गर्दै आएका छन्।
‘दिउँसाे त हेराला बसेर बाँदर धपाउने गर्छौ तर राती कताबाट बगैँचामा सुटुक्क पस्छन् पत्तै हुँदैन’ स्याउ कृषक दिनबहादुर बुढाले भने। आफ्नो बारीमा सय बोटभन्दा बढीको स्याउ बगैँचा भएकाे उनले बताए। उनले भने, ‘वार्षिक स्याउ विक्रीबाट ४–५ लाख रुपैयाँ आम्दानी हुन्थ्यो यही आम्दानीले वर्षभरिको घरखर्च धान्थ्यो तर यो वर्ष सबै बाँदरले खाइदिए घर खर्च कसरी जुटाउने चिन्तित छु।’
बुढा मात्र होइन बाँदरले बगैचाका स्याउ खाइदिएपछि स्याउ कृषक अहिले चिन्तामा छन् । उनीहरु निकुन्जले गर्दा क्षति व्यहोर्नुपरेको उनीहरु बताउँछन्।