
जनकपुरधाम – महोत्तरीमा ट्रकमा लोड भएको ४७१ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका–४, राक्सीराङ बस्ने २६ वर्षीय मानबहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार आइतबार साँझ करिब पौने ६ बजे रामगोपालपुर नगरपालिका–५ स्थित बर्दिबास–जलेश्वर सडकखण्डमा प्रहरीले ट्रकबाट गाँजा बरामद गरेको हो।
बर्दिबासतर्फ आउँदै गरेको ना ६ ख २९१९ नम्बरको ट्रकलाई चेकजाँच गर्दा ट्रकको पछाडि पट्टीको सामान राख्ने ठाउँमा पालले छोपी राखेको अवस्थामा १० बोरामा ३० पोकाभित्र रहेको ४७० किलो ९६० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।