
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १३ महिनासम्म पैरवी गर्दासमेत स्वास्थ्य जनशक्ति बढाउन नसकेको गुनासो गरेका छन् ।
काठमाडौँमा नेपाल औषधि उत्पादक संघको ३१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो गुनासो गरेका हुन् ।
उनले २०४८ सालपछि नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारीहरुको जनशक्ति उल्लेख्य बढेको भएपनि स्वास्थ्य जनशक्ति बढाउन नसकेको बताए ।
पूर्वराष्ट्रपति डा.रामवरण यादवको पालापछि अहिलेसम्म स्वास्थ्य जनशक्ति बढ्न नसकेको उनको भनाइ छ । डाक्टरहरु रहेको भएपनि आवश्यकता हुँदा पनि उनीहरुलाई काममा लगाउन नसकिएको बताए ।
सरकारले छात्रावृत्तिमा पढाउने, योग्य बनाउने तर आवश्यक पर्दा काममा राख्न नसक्ने स्थिति रहेको उनको गुनासो छ । नेपाल दक्ष बनाएर जनशक्ति विदेश पठाउने देश भएको जिकिर गरे ।
मन्त्री पौडेलले भने,‘५० लाख नागरिकले अहिले पनि अस्पताल गएर उपचार गर्न सक्दैनन् । सरकारले जम्मा ५ प्रतिशत पनि लगानी गरेको छैन । आज २०४८ सालपछि सेनामा कति संख्या बढ्यो, प्रहरीमा कति संख्या बढ्यो ? निजामतिमा कति संख्या बढ्यो ? कहाँ बढेन ? तर रामवरण यादवको पालापछि आजसम्म स्वास्थ्य क्षेत्रमा जनशक्ति बढेको छैन । १३ महिना भयो मैले यसको लागि प्रयास गरेको, अझै पनि डिबेट गरिरहनुपरेको छ । डाक्टर छन्, सरकारी स्वास्थ्य संस्थामा डाक्टरको आवश्यकता छ । हामीले उहाँहरुलाई आवश्यकता भएर पनि जागिर दिन सकिरहेका छैनाँै । सरकारले छात्रावृत्तिमा पढाउँछ, पढाएर योग्य बनाएका मानिसहरुलाई आवश्यक छ तर काम दिन सकिएको छैन । नेपाल यस्तो देश हो छात्रवृत्तिमा पढाएर डाक्टर बनाउँछ, प्रशिक्षण दिन्छ अनि दक्ष बनाएर त्यो दक्ष जनशक्ति विदेश पठाउँछ । हामी दक्ष जनशक्ति दिने देशका नागरिक पनि हौँ ।’
मन्त्री पौडेलले औषधिको मूल्य निर्धारण हुनुपर्ने बताए । स्वास्थ्य क्षेत्रको सुधारका लागि औषधि सुशासन अनिवार्य रहेको बताए ।
सरकारले बीमा प्रणालीलाई व्यवस्थित बनाउन चाहेको पनि बताए । राजनीतिप्रतिको अविश्वास डेलिभर हुन नसकेर पैदा भएको बताए ।