ब्रिटिस कम्पनीले भन्योः शताब्दीकै ठूलो ग्यास र तेल भण्डार फेला पारेका छौँ

ब्रिटिस कम्पनीले भन्योः शताब्दीकै ठूलो ग्यास र तेल भण्डार फेला पारेका छौँ
+
-

ऊर्जा क्षेत्रको दिग्गज कम्पनी ब्रिटिस पेट्रोलियम (बीपी)ले यो शताब्दीको सबैभन्दा ठूलो तेल र ग्यासको भण्डार फेला पारेको बताएको छ। केही वर्षअघि नेट शून्य कार्वन उत्सर्जन लक्ष्य लिएर नवीकरणीय ऊर्जामा ध्यान केन्द्रित गरेको बीपी अन्ततः पुनः जीवाश्म इन्धनतर्फ नै फर्किएको छ।

बेलायतमा मुख्यालय रहेको कम्पनीले दिएको जानकारीअनुसार ब्राजिलको पूर्वी तटनजिकको गहिरो समुद्री क्षेत्रमा परीक्षण कार्य भइरहेको छ। यस खोजले कच्चा तेल उत्पादन बढाउने कम्पनीको योजनामा महत्वपूर्ण भूमिका खेल्न सक्ने अनुमान बीपीले गरेको छ।

बीपीका कार्यकारी उपाध्यक्ष गोर्डन बिर्रेलका अनुसार, ‘यो बीपीले पछिल्ला २५ वर्षमा गरेको सबैभन्दा ठूलो खोज हो।’

उनले कम्पनी त्यहाँ उत्पादन केन्द्र निर्माण गर्ने सम्भावनाको समेत अध्ययन गरिरहेको भन्दै पुनः कम्पनी पेट्रोलियम सेक्टरमा ठूलो लगानीतर्फ अग्रसर देखिएको छ।

गत फेब्रुअरीमा बीपीले नवीकरणीय ऊर्जामा गर्ने योजनाअनुसारको लगानी कटौती गरेको थियो र तेल तथा ग्यास व्यवसायमा वार्षिक रूपमा अर्बौं डलर थप खर्च गर्ने घोषणा गरेको थियो, जसले लगानीकर्ताको आत्मविश्वास बढाउन कम्पनी सफल भएको थियो। खोजअनुसार अहिले आएको परिणामले कम्पनी थप उत्साही देखिएको छ।

बीपीले ब्राजिलको पूर्वी तटदेखि करिब ४०० किलोमिटर टाढा रहेको सान्तोस बेसिनको बुमेराङ ब्लकमा करिब ५०० मिटर क्षेत्रफलमा तेल र ग्यासको भण्डार फेला पारेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो खोज १९९९ मा क्यास्पियन समुद्रको शाह डेनिज ग्यास क्षेत्र फेला परेपछि बीपीको सबैभन्दा ठूलो सफलता हो। यस वर्ष बीपीले अमेरिका (डोनाल्ड ट्रम्प प्रशासनले ‘गल्फ अफ अमेरिक’) को गल्फ अफ मेक्सिको र इजिप्टसहित विभिन्न स्थानमा ऊर्जा स्रोत फेला पारेको जनाएको छ।

‘यस वर्ष हाम्रो अन्वेषण टोलीको लागि असाधारण रहँदै आएको छ र यो खोज पनि त्यसैको अर्को उदाहरण हो,’ बिर्रेलले भने। बीपीले आफूलाई ‘नेट-जिरो’ ऊर्जा उत्पादकको रूपमा रूपान्तरण गर्ने योजना पाँच वर्षअघि ल्याए पनि त्यस अवधिमा कम्पनीले ठूला चुनौतीहरू भोग्नु परेको छ।

सन् २०२० मा कोभिड-१९ महामारीका कारण बीपीलाई ५.७ अर्ब डलर (४.२९ अर्ब पाउण्ड) को वार्षिक घाटा व्यहोर्नुपर्‍यो। त्यसपछि सन् २०२२ मा युक्रेन युद्ध सुरु भएपछि बीपीले रुसमा रहेको आफ्नो उर्जा कारोबारको स्वामित्वबाट बाहिरिँदा कम्पनीले २५ अर्ब डलरको घाटा व्यहोरेको थियो।

तर, मंगलबार बीपीले सन् २०२५ को दोस्रो त्रैमासिकको आम्दानी अपेक्षाभन्दा राम्रो भएको जनाएको छ। २०२४ को सोही अवधिसँग तुलना गर्दा यो वर्षको पहिलो ६ महिनामा बीपीको ‘अन्डरलाइङ रिप्लेसमेन्ट कस्ट’ मुनाफा १५ प्रतिशतले घटेर २.४ अर्ब डलरमा झरेको छ। यद्यपि, विश्लेषकहरूले अनुमान गरेको १.८ अर्ब डलरभन्दा यो राम्रो हो, र पहिलो त्रैमासिकको तुलनामा पनि सुधार देखिएको हो।

हार्ग्रिभ्स ल्यान्सडाउनका इक्विटी अनुसन्धान प्रमुख डेरेन नेथनका अनुसार, ‘बीपीको योजना अनुसारको चाँडो रूपान्तरणले दोस्रो त्रैमासिकको नतिजामा सुधार ल्याएको छ।’ यद्यपि, कच्चा तेल र ग्यासको मूल्यमा गिरावट आएको थियो।

उत्पादन वृद्धि, अन्वेषण र विकासमा बीपीले आक्रामक रणनीति अपनाएको उनले बताए। जसको नतिजा बुमेराङ ब्लकको पछिल्लो खोज हो।

पछिल्ला वर्षहरूमा बीपीले नवीकरणीय ऊर्जामा अर्बौं डलर लगानी गर्दा र यसको प्रतिस्पर्धीहरूले युक्रेन युद्धपछि बढेको तेल तथा ग्यास मूल्यको लाभ उठाउँदा बीपीको शेयरमूल्य दबाबमा परेको थियो।

गत महिना बीपीले अल्बर्ट म्यानिफोल्डलाई नयाँ अध्यक्ष नियुक्त गरेको घोषणा गरेको थियो, जसले हेल्जे लुन्डको स्थान लिनेछन्। अप्रिलमा लुन्डले अध्यक्ष पदबाट हट्ने घोषणा गरेका थिए, त्यसको दुई महिना अगाडि मात्रै बीपीले आफ्नो नवीकरणीय ऊर्जामा लगानी कटौती गर्ने र तेल तथा ग्यास उत्पादनमा ध्यान केन्द्रित गर्ने रणनीति सार्वजनिक गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?