
रसिया र युक्रेनबिच आफू निर्वाचित भएको केही समयभित्रै शान्ति कायम गराउने बाचा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएयताको तथ्यांकले भने युद्ध झन बढेको देखाएको छ। बीबीसीले गरेको एक अनुसन्धानात्मक रिपोर्ट अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्प जनवरीमा पुनः ह्वाइट हाउस फर्किएयता रूसले युक्रेनतर्फ प्रक्षपण गर्ने ड्रोन र मिसाइलहरूको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ।
यद्यपि, ट्रम्पले युद्ध विराम गर्न आग्रह गर्दै आएका छन्। सन् २०२४ मा पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमै आक्रमणहरू बढ्दो अवस्थामा थिए, तर नोभेम्बरको निर्वाचनमा ट्रम्पको जितपछि ती आक्रमणहरू तीव्र गतिमा बढेका हुन्। जनवरीमा पदभार सम्हालेयता, मस्कोबाट युक्रेनमाथि गरिएका हवाई आक्रमणहरू युद्धकालकै सबैभन्दा उच्च स्तरमा पुगेको बीबीसीले जनाएको छ।
चुनावी अभियानभरि ट्रम्पले आफू सत्तामा फर्किए युद्ध एकै दिनमा अन्त्य गराउने दाबी गर्दै आएका थिए। उनले २०२४ को चुनावी भाषणमा भनेका थिए कि यदि रुसले ‘आदर गर्ने’ राष्ट्रपति सत्तामा भएको भए युक्रेनमाथिको पूर्ण-स्तरीय आक्रमण हुनै सक्दैन थियो।
तर युद्धविरामका प्रयासमा लागिपरेका ट्रम्पमाथि आलोचकहरूले कहिलेकाहीँ रूसको पक्षपाती भएको आरोप लगाउने गरेका छन्। साथै, ट्रम्प प्रशासनले युक्रेनलाई दिंदै आएको हवाई सुरक्षाका गोलीबारुद तथा अन्य सैनिक सामग्रीको आपूर्ति दुई पटकसम्म रोकेको थियो।
मार्च र जुलाईमा घोषणा गरिएका आपूर्ति रोकको निर्णयलाइ पछि राष्ट्रपति ट्रम्पले उल्टाएका थिए। रूसले मिसाइल र ड्रोन उत्पादनलाई बिस्तारै तीव्र पारिरहेका छ। युक्रेनी सैन्य गुप्तचर निकायका अनुसार, विगत एक वर्षमा रूसमा ब्यालिस्टिक मिसाइल निर्माण ६६ प्रतिशतले बढेको छ।
युक्रेनी वायु सेनाले दैनिक रूपमा जारी गर्ने घटनासम्बन्धी विवरणहरूमा आधारित रिपोर्ट अनुसार ट्रम्पको राष्ट्रपतिकाल सुरु भएको २० जनवरीदेखि १९ जुलाईसम्मको अवधिमा रूसले २७,१५८ राउन्ड मिसाइल र ड्रोन प्रक्षेपण गरेको थियो, जुन बाइडेनको कार्यकालको अन्तिम ६ महिनामा प्रक्षेपित ११,६१४ राउन्डभन्दा झन्डै दोब्बर हो।
‘यो क्रूर युद्ध जो बाइडेनको अक्षमताका कारण सुरु भएको हो र अब अत्यन्तै लम्बिइसकेको छ।’ ह्वाइट हाउसका उपप्रवक्ता अन्ना केलीले भनिन्। ‘राष्ट्रपति ट्रम्पले हिंसा अन्त्य गर्न चाहन्छन्, त्यसैले उनी अमेरिकी बनावटका हतियारहरू नेटो सदस्य राष्ट्रहरूलाई बेचिरहेका छन् र यदि राष्ट्रपति पुटिनले युद्धविराममा सहमति जनाएनन् भने कडा शुल्क र प्रतिबन्धहरूको चेतावनी दिइरहेका छन्।’ उनले थपिन्।
सुरुमा ट्रम्पले प्रयास तिब्र पार्दा आक्रमणमा कमी आएको थियो तर फेब्रुअरीदेखि, जब अमेरिकी परराष्ट्र मन्त्री मार्को रुबियोको नेतृत्वमा अमेरिकी कूटनीतिज्ञहरूले साउदी अरबको रियादमा रुसी विदेश मन्त्री सर्गेई लावरोभको टोलीसँग वार्ता गरे, त्यसपछि आक्रमण फेरि बढ्न थाले।
रुबियोले ती वार्तालाई युद्ध अन्त्यका लागि प्रारम्भिक प्रयास भनेका थिए। त्यसपछि टर्कीमा युक्रेनी र रुसी अधिकारीहरूबीच मध्यस्थता हुँदै वार्ताहरू भइरहेका छन्। युक्रेनी वायु सेनाको तथ्यांक अनुसार, आक्रमण सबैभन्दा उच्च बिन्दुमा गएको साउन २५ गते (९ जुलाई) भएको थियो। अर्थात जब मस्कोले युक्रेनतर्फ ७४८ वटा ड्रोन र मिसाइल प्रक्षेपण गरेको थियो। ती आक्रमणहरूमा दुई जनाको मृत्यु भएको र एक दर्जनभन्दा बढी घाइते भएको रिपोर्ट गरिएको छ।
यद्यपि ट्रम्पले बढ्दो रुसी आक्रमणप्रति पटक-पटक आक्रोश व्यक्त गर्दै आएका छन्, उनको चिढचिढोपनले मस्कोको रणनीतिमा खासै असर पारेको देखिँदैन। २५ मे मा रूसले अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको थियो, जसपछि ट्रम्पले रिसाउँदै ‘पुटिनलाई के भएको हो?’ भनेर प्रश्न गरेका थिए।
तर त्यसपछि रूसले त्यस्तो मापनमा गरिएको आक्रमण १४ पटकभन्दा बढी दोहोर्याइसकेको छ। ट्रम्पले जवाफस्वरूप क्रेमलिनसँग ८ अगस्टभित्र युक्रेनसँग शान्ति सम्झौता गर्न माग गरेका छन्। रुसी आक्रमणहरू यति तीव्र भइरहेका छन् कि युक्रेनी हवाई सुरक्षा प्रणालीलाई पार गर्दै आन्तरिक क्षेत्रमा मिसाइल र ड्रोनहरू विस्फोट हुन थालेका छन्। विशेष गरी राजधानी किभ वरपर विस्फोटहरू दैनिक जीवनको हिस्सा जस्तै बनेका छन्।
किभमा बस्ने पत्रकार डाशा भोल्कका अनुसार ‘हरेक रात सुत्नुअघि लाग्छ, भोलि विहान ब्युझिन सकिन्छ कि सकिन्न? यस्तो जीवन सामान्य त होइन नि।’
युक्रेन ‘हवाई आक्रमणप्रति कमजोर’ हुँदै
अमेरिकी सिनेटर क्रिस कूनस् जो सिनेटको विदेशी सम्बन्ध समिति अन्तर्गतका एक वरिष्ठ डेमोक्रयाट सदस्य समेत हुन्। उनका अनुसार ‘दुईपटक हतियार आपूर्ति रोकेको ट्रम्पको निर्णय र रूसप्रति देखाइएको सन्तुलनहीन व्यवहारले क्रेमलिनलाई अझ स्वतन्त्र महसुस गरायो, जसका कारण उसले आक्रमण बढाउन हौसला पायो।’
उनले थपे, ‘पुटिनले ट्रम्पको कमजोरीको फाइदा उठाइरहेको प्रष्ट देखिन्छ। अस्पताल, सुत्केरी वार्ड, विद्युत संरचना र अन्य सर्वसाधारण क्षेत्रहरू निरन्तर हमला भइरहेका छन्।’ बढ्दो आक्रमणसँगै युक्रेनलाई फेरि ‘प्याट्रियोटिक’ एन्टी–एयर डिफेन्स सिस्टमको नयाँ आपूर्तिको माग तीव्र भइरहेको छ। युक्रेनको सबैभन्दा सक्षम तर महँगो हवाई सुरक्षा प्रणाली हो यो। प्रत्येक ब्याट्रीको मूल्य झण्डै १ अर्ब अमेरिकी डलर (झण्डै ८ अर्ब पाउन्ड) हुन्छ भने प्रत्येक मिसाइलको लागत ४ मिलियन डलरसम्म पर्छ।
ट्रम्पले अघिल्लो आपूर्ति रोकको निर्णय उल्टाएर नेटो सदस्यहरूलाई हतियार बिक्री गर्न सहमति जनाएका छन्, जसले तिनै हतियार युक्रेनमा पठाउने छन्। ट्रम्पले संकेत गरेका छन् कि यस सम्झौतामा ‘प्याट्रिओटिक’ ब्याट्रीको नयाँ आपूर्ति पनि समावेश हुने छ।
रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युट (आरयुएसआइ) का रुसी सेनाबारे अध्ययन गर्ने विश्लेषक जस्टिन ब्रन्कका अनुसार, ह्वाइट हाउसद्वारा लगाइएका हतियार आपूर्तिमा प्रतिबन्धहरूले युक्रेनलाई मिसाइल र ड्रोन आक्रमणको दृष्टिले ‘कमजोर’ बनाएको हो।
तर उनले थपे कि रूसले आफ्ना मिसाइल र तथाकथित ‘कामीकाजे’ ड्रोनहरूको उत्पादन पनि तीव्र पारिरहेको छ। युक्रेनको सैन्य गुप्तचर निकाय (एचयुआर) ले हालै आफ्ना स्वदेशी सञ्चारमाध्यमहरूलाई दिएको जानकारी अनुसार, रूसले अहिले हरेक महिनामा झन्डै ८५ वटा ब्यालिस्टिक मिसाइल उत्पादन गरिरहेको छ। जुन संख्या २०२४ को अप्रिलमा ४४ मात्र रहेको थियो।