
हुम्ला – कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ। कर्णाली प्रदेश मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा सचिवका रूपमा खटाउने निर्णय गरेको छ।
ढकाल यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए। त्यसैगरि बैठकले सर्वोच्च अदालतको २०८२ जेठ ७ गतेको परमादेशबमोजिम जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र गाउँपालिका– ४ लुहादहमा तोक्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ।
यसका साथै पत्रकारिता क्षेत्रको सशक्तीकरणका लागि पत्रकारिता पुरस्कार वितरण कार्यविधि २०८२ स्वीकृत गरिएको छ। यस्तै सूचनाको हकसम्बन्धी कार्यान्वयनको प्रभावकारिता मूल्यांकन गर्न शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश सूचनाको हक अनुगमन समिति गठन गरिएको छ। उक्त समिति प्रदेशका विभिन्न कार्यालयमा सूचनाको हक लागू भए नभएकोबारे अनुगमन गर्नेछ।