
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस युक्रेन युद्ध अन्त्य गर्नका लागि रसियाका राष्ट्रपति भ्लिमिर पुटिनसँग आगामी साता भेट हुन सक्ने बताएका छन्। साथै उनले पुटिनसँगको भेटपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसहित तीन नेताबिच शिखर बैठक हुन सक्ने बताए।
राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्यतर्फ लैजान सक्नेगरी रूससँग चाँडै एक शिखर बैठकको तयारी राम्रोसँगले अघि बढेको बताए। ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,’हामीले आज राष्ट्रपति पुटिनसँग निकै राम्रो कुराकानी गर्यौं र युद्ध अन्त गर्ने राम्रो सम्भावना देखेका छौं। हामी त्यो बाटो तर्फ अघि बढेकाले अन्त्यतर्फ पुग्न सक्ने विश्वास छ।’
उनले युद्ध अन्तको बाटो लामो थियो र अझै पनि लामै रहेको भन्दै छिट्टै एउटा बैठक हुने राम्रो सम्भावनाले धेरै कुराहरूलाई नजिक ल्याएको बताए। ट्रम्पको यो टिप्पणी अमेरिकी दूत स्टिभ विटकोफले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भएको बैठकपछि भनेका हुन्। यद्यपि, ट्रम्पले भने विटकोफ र पुटिनबिच कुनै महत्त्वपूर्ण प्रगति नभएको बताए। ट्रम्पलाई सम्झौताका लागि कति समय लाग्न सक्छ भन्ने प्रश्नमा भने उनले कुनै टिप्पणी गर्न अस्वीकार गरे। उनले भने,’म यस मामिलामा पहिले पनि निराश भइसकेको छु।’
पुटिन-विटकोफ बैठकपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली नेताहरूसँगको टेलिफोन कुराकानी गर्दै सम्भवतः यसै साता राष्ट्रपति पुटिनसँग भेट गर्न चाहेको बताएका थिए। साथै उनले त्यसपछिको चरणमा रूसी नेता पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच त्रिपक्षीय वार्ता गर्ने योजना रहेको बताएका थिए।
सीएनएनका अनुसार पुटिनले मस्कोमा अमेरिकी दूत स्टिभ विटकोफ मार्फत राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष भेट गर्दै शिखर बैठकको प्रस्ताव गरेका थिए। पुटिनको उक्त प्रस्तावपछि ट्रम्पका सहयोगीहरूले ती बैठकको तयारी तत्काल सुरु गरेको जनाइएको छ। यद्यपि, अहिलेसम्म बैठकको स्थान तय भइसकेको छैन, तर ह्वाइट हाउसका अनुसार केही सम्भावित विकल्पहरूमाथि छलफल भइरहेको छ।
वार्ता अर्को हप्ता वा त्यसपछिको हप्ताभित्रै हुन सक्ने सम्भावना रहेको जनाइएको छ। ‘रूसी पक्षले राष्ट्रपति ट्रम्पसँग भेट गर्न चाहेको इच्छा व्यक्त गरेका छन्, र राष्ट्रपति ट्रम्प पनि राष्ट्रपति पुटिन तथा राष्ट्रपति जेलेन्स्की दुवैसँग भेट्न तयार छन्। राष्ट्रपति ट्रम्प यो क्रूर युद्धको अन्त्य चाहनुहुन्छ।’ ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले एक वक्तव्यमा भनेकी छिन्।
पुटिनलाई २०२२ मा युक्रेनमाथि पूर्ण हमला सुरु गरेपछि पश्चिमी नेताहरुले राष्ट्रपति पुटिनलाई बहिष्कार गर्दै आएका छन्। रूसी राष्ट्रपति पुटिनले कुनै अमेरिकी राष्ट्रपति भेटेको अन्तिम पटक जेनेभा, स्विट्जरल्यान्डमा २०२१ मा तत्कालीन राष्ट्रपति जो बाइडेनसँग हो।
जनवरीमा ह्वाइट हाउस फर्किएपछि ट्रम्पले पटक-पटक पुटिनसँग भेट गर्ने कुरा गर्दै आएका थिए। तर बुधबारको घोषणाले केही सातामै ट्रम्प र पुटिनबिच भेट हुन सक्ने जनाइएको छ।
रूसी राज्य सञ्चारमाध्यमका अनुसार करिब तीन घण्टा लामो पुटिन-विटकोफ भेटवार्ता भएको थियो। ट्रम्पले मस्कोलाई युद्धविराममा सहमत हुन वा अन्यथा रूसी तेल किन्ने मुलुकहरूलाई १०० प्रतिशत भन्सार शुल्क लगाइदिने चेतावनी दिएका छन्। ‘दोस्रो चरणको कठोर प्रतिबन्ध’ को चेतावनी पनि उनले दिएका छन्।
यदि मस्कोले यसै साताको अन्त्यसम्म युद्धविराममा सहमति जनाएन भने ट्रम्प प्रशासनले नयाँ प्रतिबन्ध लगाउने धम्की कार्यान्वयन गर्छ कि गर्दैन भन्ने अझै स्पष्ट भएको छैन। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने ट्रम्पले आगामी २४ देखि ३६ घण्टाभित्र ती प्रतिबन्ध लगाउने कि नलगाउने निर्णय गर्ने छन्।
तेल र ग्यासबाट आउने आम्दानी क्रेमलिनका लागि नगदको प्रमुख स्रोत हो, जुन रुसको कुल सरकारी बजेटको झन्डै एक चौथाइ हिस्सा ओगट्छ। त्यसैले ग्राहक गुमाउनु मस्कोका लागि दुःखद् हुने मात्र होइन, युक्रेनमाथिको युद्धका लागि आवश्यक वित्त जुटाउन पनि गाह्रो बन्न सक्ने भएकाले रसिया सम्झौताका लागि तयार हुन सक्ने जनाइएको छ।