
हुम्ला – यस पटकको जनै (साउने) पूर्णिमाको अवसरमा राति ११ बजेपछि देउडा गीत गाउन नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको सर्वपक्षीय बैठकले शान्ति–सुरक्षाका कारण देखाउँदै रातभर देउडा गाउन नपाउने निर्णय गरिएको हो।
रातभर देउडा गीत गाउँदा शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै यस पटकको साउने पूर्णिमाको सात दिन राति ११ बजेपछि देउडा गाउन नपाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए। होहल्ला हुने सम्भावना देखिएका कारण सर्वपक्षीय निर्णय भएको हो।
सँस्कृति संरक्षण हुने र शान्ति–सुरक्षा पनि कायम गर्न यो निर्णय गरिएको हो। साउने पूर्णिमाको चतुर्दशी, पूर्णिमाका दिन दिउँसो धामी नाच्ने, पूजापाठ गर्ने र राति देउडा गाउने गरिन्छ।
यसअघि यी दुई दिन रातभर देउडा गाउने गरिन्थ्यो। तर, झैझगडा हुने सम्भावना देखिएपछि राति एघार बजेपछि देउडा गीत गाउन नपाउने निर्णय गरिएको हो।
त्यसैगरी पूर्णिमाको पछिल्लो दिनदेखि पञ्चमीसम्मको पाँच दिन पनि दिनभर देउडा गाउने गरिन्छ। यी दिनमा पनि राति ११ बजेपछि देउडा गाउन नपाइने भएको छ।
सर्वपक्षीय बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख दल फडेरा, सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, राजनीतिक दल, वडाध्यक्षलगायत सहभागी थिए।