काठमाडौँ – नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा रसुवा जिल्लाको चन्दनबारीमा टुजी बीटीएस (2G BTS) सञ्चालनमा ल्याएको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित समुद्री सतहबाट करिब २ हजार ३०० मिटरको उचाइमा रहेको सो स्थानमा सेवा सञ्चालन गरेको हो।
नेपाल टेलिकमले धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित गोसाइँकुण्ड जाने तिर्थालु तथा पदयात्रीहरुको सुविधालाई विशेष ध्यानमा राखेर धुन्चेदेखि गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने चन्दनबारीमा 2G BTS सञ्चालनमा ल्याएको हो।
गोसाइँकुण्ड जाने दर्शनार्थी तथा पर्यटकका लागि धुन्चेदेखि देउराली, चन्दनबारी, लौरीविनायक र गोसाइँकुण्डसम्म नेपाल टेलिकमको मोबाइल नेटवर्कको पहुँच पुगेको छ।
साथै नेपाल टेलिकमले उच्च हिमाली क्षेत्रमा पुग्ने सेवाग्राहीहरुको सुविधाका लागि 4G नेटवर्कसमेत विस्तार गर्ने योजनासमेत बनाएको छ।
प्रशिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा परिचित गोसाइँकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमामा मेला लाग्ने गर्दछ। सो क्षेत्रमा सेवा सञ्चालन आएपश्चात दर्शनार्थी तथा पर्यटकलगायत सो क्षेत्रमा बसोबास गर्ने बासिन्दा समेत सेवाबाट लाभान्वित हुनेछन्।
दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको जनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































