
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्मेनिया र अजरबैजानबीचको ३७ वर्षदेखि जारी तनाव अन्त्य गरेका छन्। ३७ वर्षदेखि एउटा भू-भागलाइ लिएर युद्ध हुँदै आएको थियो।
अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेव र अर्मेनियाका प्रधानमन्त्री निकोलले शुक्रबार ट्रम्पको उपस्थीतिमा शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन्। दुई देशबीचको विवादित इलाकामा अब ट्रान्जिट करिडोर बनाउने सहमति भएको छ। यो करिडोरलाई ‘ट्रम्प रुट फर इन्टरनेशनल पीस एन्ड प्रोस्पेरिटी’ को नाम दिइने छ।
करिडोरले अजरबैजानको नखचवान एंक्लेव क्षेत्रलाइ जोड्ने छ जुन अर्मेनिया भएर अघि बढ्ने छ। दुबै नेताले ट्रम्प र उनको टिमलाई यो सहमतिका लागि श्रेय दिएका छन्। साथै उनीहरुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई नोबेले शान्ति पुरस्कार दिनु पर्ने बताएका छन्।
यो दौरान पनि ट्रम्पले भारत र पाकिस्तानबिचको संभावित आणविक युद्ध रोकेको भन्दै उनले एक अर्काविरुद्ध ठूलो युद्धमा फस्न लागेको बेला जोगाएको बताए। ट्रम्पले अर्मेनिया र अजरबैजान बाहेक विश्वका ६ वटा महत्वपूर्ण युद्ध रोकेको बताएका छन्।
ट्रम्प रुटमा तेल र ग्यासको पापलाइन पनि विछ्याइने
ट्रम्प प्रशासनले यो वर्षको सुरुवातदेखिनै दुई देशसँग वार्ता सुरु गरेका थियो। सहमतिसँगै अर्को हप्ताबाट ट्रम्प रुटमा तेल, ग्यासँ पाइपलाइनसँगै फाइबर अप्टिकल लाइन विकासको काम सुरु गर्ने विषयमा छलफल भएको छ। यो बाहेक अमेरिकासँग ऊर्जा र अर्थ व्यवस्थामा सहयोग बढाउने विषयमा पनि छलफल भएको छ। साथै अर्मेनिया र अजरबैजानबीच एक पत्रमा हस्ताक्षर गर्दै ओएससीई मिन्स्क ग्रुप भंग गर्न माग गरेका छन्। यो समूह १९९० को दशकमा रुस, फ्रान्स र अमेरिकाले विवाद समाधानका लागि बनाएको एउटा मध्यस्त समूह हो।
सम्झौता अघि ट्रम्पले शुक्रबार अर्मेनिया, अजरबैजान र अमेरिकाको लागि मात्र होइन पुरै विश्वका लागि एतिहासिक दिन भएको बताएका थिए। ट्रम्पले यो शिखर वार्ताले दिएको परिणामले दक्षिण काकेशस क्षेत्रको संभावनालाई पूर्ण रुपमा खोल्नका लागि सहयोगी हुने बताएका छन्।
ट्रम्पले आफ्नो ट्रुथ सोसलमा लेखेका छन् ‘अर्मेनिया-अजरबैजान लामो समयदेखि युद्धमा थिए, जसमा हजारौं मानिसको ज्यान गएको छ। कयौं नेनातहरुले यो युदध् अन्त्य गर्ने कोशिस गरे, तर अहिलेसम्म सफलता पाउन सकेका थिएनन्, तर मेरो प्रशासन दुबै पक्षसम्म लोमो सयम वार्ता गरेर समाधानमा पुगेको छ।’
१९८८ देखी विवादमा अर्मेनिया र अजरबैजान
१९२० को दशकमा सोभियत संघले अर्मेनिया र अजरबैजान कब्जा गरेको थियो। १९८० को दशकमा सोभियत संघको शासन कमजोर भयो। सोभियत शासनले नागोर्नो-काराबाखलाई प्रशासनिक रूपमा अजरबैजानमा राख्यो, तर यहाँको जनसंख्याको ठूलो बहुमत अर्मेनियाली जातीय समुदाय थियो।
सोभियत संघ कमजोर हुँदै जाँदा नागोर्नो-काराबाखका अर्मेनियाली नेताहरूले अर्मेनियासँग एकीकरणको माग गरे। अजरबैजानले यसलाई अस्वीकार गर्यो, र दुवै पक्षका बासिन्दाबीच हिंसा सुरु भयो।
अर्मेनियालीहरु इसाइ धर्म मान्थे भने अजरबैजानीहरु तुर्किश मुलुकको मुस्लीमका रुपमा रहेका थिए। यो धार्मीक तथा सांस्कृतिक अन्तरले दुबै समुदायको बिचमा अविश्वास र टकराब बढ्न थाल्यो। दुबै पक्षले एकअर्का विरुद्ध सांस्कृतिक विरासतका रुपमा रहेको मस्जिद र चर्चहरु तोड्फोड गर्न थाले। अर्मेनिया र अजरबैजानबीच नागोर्नो-कारबाख क्षेत्रलाई लिएर बिबाद १९८८ यता युद्धका रुपमा बढ्न थाल्यो।
सोभियत संघ बिघटनपछि दुवै देश स्वतन्त्र भए र नागोर्नो-काराबाखको स्वामित्वको लडाइँ खुला युद्धमा बदलियो। करिब ३० हजार मानिस मारिए र लाखौँ विस्थापित भए। युद्ध अन्त्य गर्दा अर्मेनियाली सेनाले नागोर्नो-काराबाख र वरिपरिका केही अजरबैजानी क्षेत्रहरू नियन्त्रणमा राख्यो। १९९४ मा युद्धविराम भए पनि सीमा क्षेत्रमा झडप र गोलीबारी निरन्तर भइरह्यो।
२०२० मा अजरबैजानले ठूलो सैन्य अभियान चलाएर आफ्नो धेरै भूभाग फिर्ता लियो। रसियाले मध्यस्थता गरेर युद्धविराम गरायो, तर तनाव कायम रह्यो। युदध्मा अहिले सम्म ३० हजार मानिसहरु मारिएका छन् भने १० लाख पलायन भएका छन्। २०२३ मा अजरबैजानले नागोर्नो-कारबाख क्षेत्रका केही भाग कब्जा गर्न सफल भएको थियो।
ट्रम्पले युद्ध रोकेको दाबी गरेका यी हुन् ६ देश
भारत–पाकिस्तान: २२ अप्रिलमा पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि ७ मेमा भारत र पाकिस्तानबिच युद्ध सुरु भयो। यो चार दिनसम्म चल्यो। ट्रम्पले मध्यरातमा भारत पाकिस्तानबीच युद्ध अन्त्य भएको घोषणा सामाजिक सञ्जालमार्फत गरेको केही घन्टापछि दुबै देशले यसलाई स्वीकारेका थिए। यद्यपी भारतले यो दाबी अस्वीकार गरे पनि पाकिस्तानले भने ट्रम्पका कारण युद्ध रोकिएको बताउँदै आएको छ।
इजरायल–इरान: यो युद्ध १३ जुनमा सुरु भयो, जब इजरायलले इरानका प्रमुख सैनिक र परमाणु केन्द्रहरूमा आक्रमण गर्यो। युद्ध १२ दिनसम्म चल्यो। अन्तमा अमेरिकाले इरानका ठूला आणविक भट्टीमा बमहरु खसाल्यो। युद्ध चर्कने सम्भावनाबीच ट्रम्पले अप्रत्यासित रुपमा युद्ध अन्त्य भएको घोषणा गरेका थिए।
थाइल्यान्ड–कम्बोडिया: २४ जुलाईमा प्रसात ता मुएन थोम मन्दिर नजिकको सीमा विवादका कारण सैन्य झडप सुरु भयो। पाँच दिनपछि संघर्ष अन्त्य भयो। यो विवादलाइ पनि ट्रम्पले आफ्नो मध्यस्थतामा युद्ध अन्त गरेको बताएका छन्।
रुवाण्डा–कङ्गो: २०२३ मा रुवाण्डाको एम२३ विद्रोही समूहले जातीय भेदभावको कारण देखाउँदै कङ्गोमा आक्रमण सुरु गर्यो। जुन २०२५ मा हिंसा अझै बढ्यो। त्यसपछि ट्रम्पले आफ्नो प्रशासनले दुबै देशबीच युद्धविराम गराएको दाबी गरेको छ।
सर्बिया–कोसोभो: २०२३ मा कोसोभोको बान्ज्स्का क्षेत्रमा सर्बियाली आक्रमणकारी र कोसोभो प्रहरीबीचको हिंसक झडपपछि युद्ध सुरु भयो। यो २०२५ मा पनि जारी रह्यो। ट्रम्पले जुनमा हस्तक्षेप गरी युद्ध रोकाएको दाबी गरे।
इजिप्ट–इथियोपिया: २०२० मा नाइल नदीमा ग्रान्ड इथियोपियन रेनेसाँस ड्याम (जीइआरडी) को पानी प्रयोगबारेको विवादले संघर्ष सुरु गर्यो। जुलाई २०२४ मा इजिप्टले सैन्य उपस्थिति बढाएपछि विवाद चर्कियो। ट्रम्पले जुन २०२५ मा दुबै देशबीचको विवाद समाधान गराएको दाबी गरे।