
हुम्ला – काम नपाएर बेरोजगार भएको कुरा बाहिर आई रहेको अवस्थामा हिमाली जिल्ला हुम्लामा विकास निर्माणका कामका लागि जिल्ला बाहिरबाट कामदार झिकाएर काम गर्नुपर्ने अवस्था छ। बेरोजगार भएर बस्न तयार तर जिल्लामा हुने विकास निर्माणका काम गर्न जानै लाज मान्ने सोचाई र काम ठग्ने प्रबृतिका कारण निर्माण ब्यवसायीले कामदार बाहिर जिल्लाबाट ल्याएर काम गर्नु परि रहेको हो।
कामदार खोज्दा नपाउने र पाएपनि काममा इमान्दारीपूर्वक काम नगर्ने पाईएपछि लुम्बिनी प्रदेशको बर्दिया जिल्लाबाट पैतीस जना कामदार खोजेर ल्याउनुपरेको पानस निर्माण सेवाका सरोज रावतले बताए।
सडक निर्माणका लागि नाला, प्लम्व वाल, कल्भर्ट र सडक सम्याउने, ग्याविन निर्माण गर्ने कार्यका लागि सवै कामदार बाहिर जिल्लाबाट ब्यवस्था गरेर काम गर्नु परि रहेको छ। स्थानीयलाई काम दिने चाहाना हुँदै हुँदै पनि दिन सक्ने अवस्था रहेको छैन। त्यसैगरी सोही सडक खण्डको च्याछरादेखि आँसीकान्नासम्मको सडक निर्माण गर्दै आउनु भएका ओसिस ईन्जिनीयरिङ एण्ड ब्वील्डर प्रालिका प्रतिनिधि हरि बोगटीले सत्तरी जना कामदार सल्यान, दैलेख, कालीकोट र जुम्लावाट ल्याएर काम गरि रहेको बताए।
स्थानीय ब्यक्ति ताक्लाकोट गएर काम गर्न चाहाने तर आफ्नै जिल्लामा पाएको काम गर्न आउन नमान्ने पाईएपछि कामदार बाहिरबाट ब्यवस्था गर्नु पर्ने बाध्यता आफुलाई रहेको उनले बताए। अर्को कामको गुणस्तरमा पनि स्थानीय दक्ष कामदारले दिन नसक्ने बताउदै यस्ता कामदार पनि जिल्ला बाहिर पाल्पा, गुल्मी लगाएतका जिल्लाबाट खोजेर ल्याउनु पर्ने बाध्यता निर्माण ब्यवसायीलाई रहेको छ। यता बोक्चे र भिगौडा सडक स्तरोन्नती गर्ने कार्यमा चट्टान बिष्फोट गर्दा पनि मुगु, कालीकोट र बाजुराका कामदार झिकाएर काम गर्नु परेको सेनाले जनाएको छ।
एक दुई जना हुम्लाका स्थानीयले काम गरेको भए पनि सेनाको उद्देश्य कामजति सवै स्थानीयले गरेर रोजगार बनुन भन्ने भए पनि यति धेरै काम हुम्लामा गर्दा पनि काम गराउन नसकिएको सेनाले जनाएको छ।
वर्षमा सवै किसिमका विकास निर्माणका काममा गरि पाँच सय भन्दा बढी कामदार जिल्ला बाहिरबाट ल्याएर काम गराउनुपरिरहेको निर्माण ब्यवसायी संघका सचिव ओपेन लामाले बताए। यी कामदार आफ्नो कामको सीप हेरेर एक हजारदेखि दुई हजार रुपैयाँ दैनिक पारिश्रमिक पाइरहेको बताउँदै स्थानीय युवाहरुले काम गरेको भएर रोजगारी जिल्लामै रहेको उनले बताए। जिल्लाबाहिरबाट आउने कामदार लिमीको लाप्चा, हिल्सा, सिमकोट लगाएतका काम पाउन कुनै पनि स्थानमा पुग्न नाई नास्ती गर्ने गर्नु भएको छैन।