
दाङ- दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–५ का ५६ बर्षीय देवराज चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूनचा अधिकारी तथा प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जानकारी दिए ।
प्रहरीका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल तुलसीपुर–१८ दुधरास नजिकै हिजो शनिबार बेलुका साढे ७ बजेको समयमा आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल चालक चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी लु.प्र. ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–५ निवासी २७ बर्षीय नवराज पौडेल र सोही मोटरसाइकलमा पछाडी सवार बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–२ घरभई अहिले तुलसीपुर–५ मा बस्दै आएका १८ बर्षीय रोशन पण्डित घाइते भएका छन् ।
घाइतेमध्ये राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपश्चात रोशन पण्डित डिस्चार्ज भइसकेको र नवराज पौडेललाई थप उपचारका लागि अर्को हस्पिटलमा पठाइएको छ ।
मृतक चौधरीको शव पोष्टमार्टमका लागी अस्पतालको शवगृहमा राखिएको छ । दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।