
भारतको पश्चिम बंगालस्थित कोलकातामा रहेको विज्ञान शिक्षा तथा अनुसन्धान संस्थान (आईआईएसईआर) मा एक पीएचडी स्कलर विद्यार्थीले आत्महत्या गरेपछि तनाव भएको छ। तेस्रो वर्षमा अध्ययनरत एक पीएचडी विद्यार्थीको शुक्रबार मृत्यु भएको हो।
क्याम्पस प्रसासनले अचानक बिरामी परेपछि अस्पताल लगिएका २४ वर्षीय आनमित्र रायलाई बचाउन नसकिएको जनाएको छ। यद्यपि, उनलाई मानसिक दबाब दिँदा उनी आत्माहत्या गर्ने अवस्थामा पुगेको दाबी परिवारले गरेको छ।
रायलाई बिहीबार साँझ गम्भीर अवस्थामा आईआईएसईआर-कल्याणीबाट एआईआईएमएस–कल्याणी पुर्याइएको थियो। उनको परिवारका अनुसार अस्पतालले ‘अचानक मुटु बन्द’ भएर मृत्यु भएको जानकारी दिएको छ। यद्यपि, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ।
छिमेकी जिल्ला उत्तर २४ परगनाको श्यामनगरका बासिन्दा रायले आफ्नो सामाजिक सञ्जालका पोस्टहरूमा आफू १४ वर्षको उमेरदेखि नै डिप्रेसनबाट पीडित भएको उल्लेख गर्ने गरेका थिए। तर, हालैका महिनाहरूमा आफू र अन्य साथीहरूलाई अर्का पीएचडी विद्यार्थी सौरभ विश्वासबाट बारम्बार दुर्व्यवहारको सिकार भएको र त्यसको बारेमा प्रशासनमा निरन्तर जानकारी गराए पनि सुनुवाइ नभएको भन्दै उनले निराशा व्यक्त गर्ने गरेका थिए।
रायले आफ्ना सुपरभाइजर आनिन्दिता भद्रा र संस्थाको एन्टि–र्यासगिङ सेलमा पटक–पटक उजुरी दिए पनि कुनै कारबाही नभएको आरोप लगाएका छन्।
उनको पोस्टमा भनिएको छ, ‘थेरापी र औषधिले नै मलाई अहिलेसम्म जिउने आधार दिएको छ। पछिल्लो समय ममाथि भएको व्यवहार कलेज प्रशासनले बेवास्ता गर्दा मलाई थप पीडा भएको छ।’
उनको बाल्यकालदेखि नै निरन्तर शारीरिक र मानसिक यातनाको सिकार भएको भन्दै उनले अगस्ट ७ मा सामाजिक सञ्जालमा आफ्नो स्टाटस पोस्ट गरेका थिए।उनले बाल्यकालदेखि नै निरन्तर शारीरिक, मानसिक यातना भोगेको र जसको निरन्तरता कलेजमा आएपछि पनि भएको उनले बताएका थिए।
रायका अनुसार यस वर्षको अप्रिल १२ मा प्रयोगशालामा एउटा घटना भएको थियो। सो दिन सौरभ विश्वासले उनलाई चर्को स्वरमा गाली गर्दै लामो समयसम्म दुर्व्यवहार गरेका थिए। उनले यसबारे संस्थाका वरिष्ठ अधिकारीहरूलाई औपचारिक उजुरी दिए पनि प्रशासनबाट कुनै प्रतिक्रिया पाएनन्।
उनको दाबीअनुसार विद्यार्थी मामिला परिषद् र सुपरभाइजर दुवै जना समस्या समाधान गर्नुभन्दा पनि प्रयोगशालाको प्रतिष्ठा जोगाउन बढी चिन्तित देखिए। रायले भनेका छन् कि सुपरभाइजरले त विश्वासको कामको सार्वजनिक रूपमा प्रशंसासमेत गरे, जबकि रायले त्यसलाई ‘वैज्ञानिक बेइमानी’ भनेका थिए।
आफ्नो अन्तिम पोस्टमा उनले लेखेका छन्, ‘यो संसारका लागि म कहिल्यै बनेकोजस्तो लाग्दैन। हो, मैले कतिपय राम्रा मान्छे भेटेँ, केही साथी बनाएँ, कतैकतै प्रेमका अंशहरू पनि पाएँ। तर, अब म यो गर्न सक्दिनँ। मैले हार मानेँ। जीवनमा कहिल्यै नपाएको शान्ति मृत्युमा पाइयोस्।’
आईआईएसईआरले उनको मृत्युको पुष्टि गर्नुबाहेक कुनै टिप्पणी गरेको छैन। यद्यपि, उनका केही ब्याचमेटहरूको दाबी अनुसार रायको केही दिनअघि प्रयोगशालामा आफ्नै गाइडसँग वादविवाद भएको थियो। प्रहरी अधिकारीले पीटीआईलाई भने,’घटनाका परिस्थितिहरू बुझ्न हामीले छानबिनको आदेश दिएका छौँ। पोस्टमार्टम रिपोर्टले थप विवरण दिनेछ।’