मुगु – कर्णाली राजमार्गको नाग्म–गमगढी खण्डअन्तर्गत पर्ने पिना–ताल्च–गमगढी सडकमा नाला र पानी निकास नबनाउँदा स्थानीय बस्ती र खेतीपाती वर्षेनी उच्च जोखिममा परिरहेका छन्। सडक बनेको १३ वर्ष बितिसक्दा पनि मापदण्डअनुसारको संरचना निर्माण नगर्दा वर्षाको पानी सिधै सडक हुँदै बस्ती र खेततिर बग्ने समस्या लगातार बढ्दै गएको छ।
छायानाथ रारा नगरपालिकाका वडा नं। १ देखि ८ भित्रका पिना, झ्यारी, सिगाडी, टोप्ला, घुइर, बालै, ताल्च, डाँडागाउँ, ढुम, तलितम, चैन, श्रीनगर, इमा, ठिनी लगायतका गाउँ तथा गमगढी बजारका शितल बजार, न्युरोड, बागबजार क्षेत्र बाढी, पहिरो र जमिन कटानको खतरा झेलिरहेका छन्।

स्थानीय बासिन्दाहरूका अनुसार सडक निर्माणपछि बाढी–पहिरोको समस्या झन् चर्किएको छ। ूपहिला यहाँ बाढी आउने कुरा नै थिएन, सडक बनेपछि पानी सिधै सडक हुँदै बगेर बस्तीमा पस्न थालेको छ,ू ठिनीका एक बासिन्दाले बताए। सडक कार्यालयले आवश्यक नाला र निकासको व्यवस्था नगर्दा वर्षातमा सडकमै खोला बग्ने र आसपासका खेत, घर र संरचनामा क्षति पुग्ने गरेको उनको भनाइ छ।
हालैको निरन्तर वर्षाले खेतबारीको धान, मकै, कोदो, सिमी जस्ता बाली बगाएको छ। सिगाडीका कृषक बलबीर रावल भन्छन्, “पाक्न लागेको बाली र जमिन दुवै बग्यो, अब परिवारलाई के खुवाउने हो?”
सडक डिभिजन जुम्लामार्फत निर्माण भएका सडकमा पानीको निकास पुराना खोलाखोल्सामा नलग्दा कतै बस्ती डुबानमा परेको छ भने कतै खेतीयोग्य जमिन कटान भइरहेको छ। ट्याक खोलिएका ग्रामीण सडकदेखि कर्णाली राजमार्गका धेरै स्थानमा बाढी र पहिरोले सडक क्षतिग्रस्त बनाइरहेका छन्।
वर्षेनी करोडौं रुपैयाँ सडक निर्माण र स्तरोन्नतिमा खर्च भए पनि नाला र निकासको उचित योजना नबनाउँदा स्थानीय जनताले निरन्तर पीडा भोग्नु परेको छ। यसैसँग, बाढी–पहिरोका कारण करोडौंको चल–अचल सम्पत्ति गुमिरहेको छ।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































