
गाजा सिटीको अल-शिफा अस्पताल नजिकै इजरायली आक्रमणमा परी अल जजिराका पाँच पत्रकारको निधन भएको छ। अल जजिराले यो घटनालाई ‘प्रेस स्वतन्त्रतामाथिको नियोजित आक्रमण’ र ‘लक्षित हत्या’ भनेको छ।
मृत्यु हुने पत्रकारहरूमा अनस अल-शरीफ, मोहम्मद कुरेकेह, इब्राहिम जाहेर, मोहम्मद नौफल, र मोअमेन अलिवा रहेका छन्। उनीहरू सबै अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा बसेका बेला आक्रमण भएको हो।
आक्रमणपछि इजरायली रक्षा बल (आइडिएफ)ले सामाजिक सञ्जाल टेलिग्राममार्फत अनस अल-शरीफमाथि आक्रमण गरेको स्वीकार गरेको छ। इजरायलले उनलाई हमासको एक आतंकवादी समूहको प्रमुख भएको दाबी गरेको छ। यद्यपि,आइडीएफले अन्य पत्रकारहरूको बारेमा भने कुनै जानकारी दिएको छैन।
अल जजिराका अनुसार, यो आक्रमणमा कुल सात जनाको ज्यान गएको थियो। सुरुमा चार जना पत्रकारको मृत्यु भएको बताए पनि पछि यो सङ्ख्या पाँच पुगेको पुष्टि भएको हो।
अल जजिराका प्रबन्ध सम्पादक मोहम्मद मोवादले बीबीसीसँग कुरा गर्दै अनस अल-शरीफ एक मान्यताप्राप्त पत्रकार भएको र गाजाको अवस्थाबारे विश्वलाई जानकारी दिने ‘एक मात्र आवाज’ भएको बताए। उनले पत्रकारहरू अग्रमोर्चामा नभई अस्पतालको टेन्टमा रहेका बेला आक्रमण गरिएको भन्दै इजरायलले गाजाभित्रका समाचारलाई दबाउन खोजेको आरोप लगाए।
मृत्यु हुनु केही समयअघि मात्रै २८ वर्षीय अनस अल-शरीफले ‘एक्स’ (ट्विटर) मा पोस्ट गर्दै गाजामा भइरहेको भीषण बमबारीबारे चेतावनी दिएका थिए। उनको मृत्युको खबर आएपछि प्रकाशित अर्को पोस्ट भने उनका साथीले पहिले नै लेखिएको सामग्री प्रकाशित गरेको पाइएको छ।
यसैबीच, आइडीएफको विज्ञप्तिमा अल-शरीफले पत्रकारको भेषमा रहेर इजरायली नागरिक र सैनिकहरूविरुद्ध रकेट आक्रमणलाई बढावा दिएको आरोप लगाइएको छ। विज्ञप्तिमा आक्रमण गर्नुअघि सर्वसाधारणको क्षति कम गर्न सटीक हतियार र हवाई निगरानीको प्रयोग गरिएको दाबी पनि गरिएको छ।
अन्तर्राष्ट्रिय संस्था कमिटी टू प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे)का अनुसार, सन् २०२३ को अक्टोबरमा गाजामा इजरायली आक्रमण सुरु भएपछि हालसम्म १८६ जना पत्रकारको मृत्यु भइसकेको छ। यस घटनाले पत्रकारिताको स्वतन्त्रता र पत्रकारहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।