
हुम्ला – वर्षाका कारण विद्यालयको अधिकांश कक्षाकोठामा भल पसेको छ। यसले गर्दा कक्षामा पढाइ हुन सक्ने अवस्था नरहेपछि विद्यालय हाताभित्रकै खेल मैदानमा पठनपाठन गराउनुपर्ने बाध्यता विद्यालयलाई सिर्जना भएको हो।
सदरुमकाम रहेको सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माध्यमिक विद्यालयमा मंगलबार राति पानीको भल पसेपछि कक्षाकोठामा पानी भरिएर पठनपाठनमा बाधा पुगेको प्रधानाध्यापक कैलाश रोकायाले जानकारी दिए। उनले कक्षा एक, चार, छ, पुस्तकालय र आर्थिक प्रशासनको कोठामा भल पसेर पठनपाठन गराउन नसकिने र कर्मचारीलाई काम गर्न कठिन भएको बताए।
सोमबार दिनभर भारी वर्षा भएको थियो। विद्यालयको पछाडिपट्टि हिल्दुम विद्युत् वितरण केन्द्रबाट बगेर आउने पानी कक्षाकोठामा पसेको हो।
वर्षाको पानीले निकै समस्या निम्त्याएको भन्दै यो समस्या बारम्बार भोग्नुपरिरहेको उनले बताए। बुधबार बिहान विद्यार्थी र शिक्षक मिलेर कक्षामा जमेको पानी फालिए पनि कक्षाकोठा नसुकेको कारण पढाइ सुचारु गर्न नसकिएको हो।
वर्षेनी कक्षामा पानी पस्ने समस्या लिएर गाउँपालिकामा जाँदासमेत समाधानका लागि कुनै पहल नगरेको भन्दै उनले गुनासो गरेका छन्।