
गलकोट (बागलुङ)- बर्खायाममा नदीजन्य पदार्थको उत्खनन गर्न नपाइने कानुनी व्यवस्थाको बेवास्ता गर्दै बागलुङ र पर्वत हुँदै बग्ने कालीगण्डकी नदीमा अवैध दोहन भइरहेको छ।
असारदेखि भदौ १५ गतेसम्म नदीबाट ढुंगा, गिटी र बालुवा निकाल्न निषेध गरिएको भए पनि रातिको समयमा चोरी निकासी बढिरहेको छ।
शनिबार राति मात्रै बागलुङको सहस्रधारास्थित भाटेखोला बगरमा एउटा स्काभेटरले बालुवा निकालिरहेको र पाँचवटा टिपरले ढुवानी गरिरहेको देखिएको छ।
कालीगण्डकी बचाउ अभियानका संयोजक आरके अदिप्त गिरीका अनुसार, बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङ, भाटेखोला र वडा नम्बर १३ को कालाखोला बगरलगायत दर्जनौँ स्थानमा अवैध उत्खनन भइरहेको छ।
यस किसिमको दोहनले पवित्र मानिने कालीगण्डकीमा रहेका शालिग्राम शिलासमेत सङ्कटमा परेका छन्। साथै, नदीको बीच भागबाटै उत्खनन गर्दा नदीको बहाव परिवर्तन भई बागलुङ नगरपालिका–१ स्थित माझी बस्ती, मालढुंगा र कालाखोला बगर क्षेत्रका घरहरू बाढीको उच्च जोखिममा पर्न थालेका छन्।
सरकारी निकाय मौन:
गिरीले अवैध दोहनलाई रोक्न स्थानीय तह, प्रहरी प्रशासन र जिल्ला समन्वय समितिले बेवास्ता गरेको आरोप लगाए। उनका अनुसार, यी निकायहरू एक-अर्कालाई दोष दिएर पन्छिने गरेका छन्, जसले गर्दा दोहनले प्रश्रय पाएको छ। “प्रहरी प्रशासनको मिलेमतोबिना दोहन सम्भव छैन,” गिरीले भने, “मालढुंगामा प्रहरी चौकी नजिकै दोहन भइरहेको छ।” उनले कालीगण्डकी सभ्यता जोगाउन सबैलाई दबाब दिन आग्रह गरे।
प्रहरी भन्छ, ‘नयाँ रणनीति बनाउँदैछौँ’:
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले नदी दोहन रोक्न प्रहरी परिचालन भए पनि पूर्ण रूपमा नियन्त्रण गर्न नसकेको स्वीकार गरे। उनले स्थानीय तहले ठेक्का लगाउन नसक्दा राजस्व गुम्ने डरका कारण पनि दोहन नरोकिएको बताए। भारतीले अब दोहन भइरहेका स्थानहरूमा सादा पोसाकमा प्रहरी परिचालन गर्ने नयाँ रणनीति बनाइएको जानकारी दिए।