अटो क्षेत्रमा पछिल्ला दिनहरूमा ब्राण्ड नै बनाइसकेका परिचित सेलिब्रेटी भ्लगर हुन्- अवशिष ओझा। अटो सेक्टरमा परिचित ब्रान्ड हुन्डाइमा लामो अनुभव बटुलेका ओझा हिजोआज सवारीसाधनका विज्ञजस्तै बनिसकेका छन्।
बजारमा दैनिकजस्तो हुने प्रेस मिट, गाडी लञ्चिङसँगै अन्तर्क्रिया कार्यक्रममा पनि उनको नाम अग्रपंक्तिमा आउँछ। उनी ब्रान्डका बारे नियमित रूपमा अपडेटमात्र हुँदैनन्, विभिन्न तरिकाले रिसर्च पनि गरिरहन्छन्। त्यही हुनाले उनी हिजोआज ग्राहकको रोजाइअनुसारको सुझाव दिन पोख्त छन्।
त्यसरी सुझाव दिने काम उनी सामाजिक सञ्जालबाटमात्र गर्दैनन्, कहिलेकाहिँ प्रत्यक्ष भेटेरै पनि गर्छन्। अटोसम्बन्धी कार्यक्रममा कहिले उद्घोषण, कहिले रिभ्यू, कहिले प्रस्तुति दिन व्यस्त हुन्छन् उनी। टाटाको इभी गाडीमा मित्र विजयराम कसजूसँगै काठमाडौँदेखि भारतको दक्षिणी कुना कन्याकुमारीसम्म करिब ६ हजार ७ सय किलोमिटरको यात्रा गरेका छन् उनले। उनी र उनका मित्र कसजूले मोटरसाइकलमा पनि त्यो दूरी नापिसकेका छन्।
हरेक वर्षझैँ भदौ ३ गतेबाट ६ गतेसम्म आयोजना हुन गइरकहेको १७ औँ संस्करणको नाडा अटो सोबारे ओझा भन्छन्- यो एउटा ठूलो मेलामात्र नभएर सवारीसाधन, स्पेयर पार्ट्स र अन्य वस्तुको प्रदर्शनसँगै बिक्रीवितरण र किनबेच गर्ने कुम्भमेला हो। एउटै छाताभित्र सवारीसाधनका क्रेता र विक्रेतालाई सँगै जुटाउने माध्यम हो यो।
‘यसको प्रभाव सामाजिक रूपमा मात्र हुन्न, आर्थिक रूपमा पनि उत्तिकै हुन्छ,’ उनले थपे। नेपाल र विदेशमा हुने यस्ता मेलाको उद्देश्य नै फरक हुने बताउँछन् उनी। अन्तर्राष्ट्रिय बजारमा हुने मेलामा सम्बन्धित उत्पादन, त्यसको विशेषता र नवप्रबर्द्धनबारे मात्र जानकारी गराइन्छ भने नेपालका मेलामा भने बिक्री बढाउने नै उद्देश्य हुन्छ। तर बिक्री गर्ने भनिए पनि योसँगै जोडिने थुप्रै विषयलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ। उनी भन्छन्- ग्राहक नै सबैभन्दा ठूलो ब्रान्ड एम्बासडर हो।